वीरगन्जमा कर्फ्यू हटाइयो, साँझ ६ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

 

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यू आदेश प्रशासनले हटाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै आज (शुक्रबार) साँझ ४ः३० बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, फागुन ११ गते बिहान ९ः४५ बजेदेखि लागू गरिएको कर्फ्यू सर्वदलीय बैठकको सहमति र सुरक्षा मूल्यांकनका आधारमा हटाइएको हो । प्रशासनले परिस्थिति क्रमशः सामान्य बन्दै गएकाले कफ्र्युलाई निरन्तरता दिन आवश्यक नदेखिएको जनाएको छ ।

कफ्र्यु हटाइए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको भन्दै प्रशासनले आजै बेलुकी ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

यो अवधिमा कुनै पनि प्रकारका भेला, आमसभा, जुलुस, र प्रदर्शन गर्न पाइने छैन ।
निषेधाज्ञा लागू हुने क्षेत्रहरूः  प्रशासनले निषेधाज्ञाको सीमा यस प्रकार तोकेको छ ः
पूर्वः बाइपास रोड
पश्चिमः रानीघाट पुल
उत्तरः पावरहाउस चोक
दक्षिणः घण्टाघर चोक
स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लंघन गर्ने जोसुकैलाई पनि ‘स्थानीय प्रशासन ऐन, २०२८’ बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । प्रशासनले हालको संवेदनशीलतालाई बुझिदिन र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ ।
महानगरका संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो बनाइएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *