काठमाडौँ। नेकपा (एमाले)का केन्द्रीय सदस्य समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई अराजकताको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा रहेको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिकै आधारमा लोकतान्त्रिक व्यवस्था खतरामा रहेको भाष्य निर्माण गरिनु नहुने बताए।
सरकारले जेन–जी आयोगको अनुसन्धान प्रतिवेदन समयमै सार्वजनिक नगरेर एमालेलाई आरोपित गर्ने प्रयास गरिरहेकोप्रति आपत्ति जनाए।
उनले भने, ‘प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाबाट आएको वक्तव्यलाई सुनेर लोकतन्त्र नै समस्यामा छ भन्ने भाष्य बनाइनु हुँदैन। अहिले निर्वाचनको समयमा घटेका घटनाको आधारमा चिन्ता र चासोका विषयहरुलाई अन्यथा पनि लिनु हुँदैन। आज यो लोकतन्त्रमा समस्या छ भने तत्कालीन राजाभन्दा पनि अहिलेको अराजकता र त्यसको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुन काम भइरहेको छ, यसबाट नै लोकतन्त्र खतरमा छ जस्तो अनुभूति हुन्छ।’







