लिचीबारी घुस काण्ड: पूर्वमन्त्री रञ्जिता श्रेष्ठ ५ लाख धरौटीमा रिहा

काठमाडौं । पोखराको लिचीबारी जग्गासम्बन्धी घुस प्रकरणमा मुछिएकी पूर्वमन्त्री तथा नेकपा नेतृ रञ्जिता श्रेष्ठलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

आइतबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

लिचीबारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ तथा पाँच जना विचौलियाविरुद्ध गत असोज २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

गत असार २८ गते मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ घुस लिएको भनिएको अडियो सार्वजनिक भएपछि प्रकरण चर्चामा आएको थियो। कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा तथा आफूअनुकूल कर्मचारी व्यवस्थापन गरिदिने आश्वासनसहित भएको चलखेलमा श्रेष्ठको संलग्नता रहेको अभियोग अख्तियारले लगाएको छ।

आयोगले गुप्ता र श्रेष्ठसँग जनही ७८ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ। यसअघि थुनछेक बहसका क्रममा विशेष अदालतले गुप्तालाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *