यसरी तानिएको रकमको राष्ट्र बैंकले दुई प्रतिशत ब्याज दिने गर्दछ । निश्चित समयका लागि मात्र त्यो रकम केन्द्रीय बैंकले राख्दछ । राष्ट्र बैंकले तरलता तानेपनि बैंकहरुले घाटा खानुपरेको छ । कसरी भन्नुपर्दा अहिले बैंकले निक्षेपको चार दशमलब ५६ ब्याज दिइरहेको छ तर राष्ट्र बैंकले दुई प्रतिशतमात्र दिन्छ ।दुई दशमलब ५६ प्रतिशत त बैंकले घाटा खानुपरेको छ । अनि के फाइदा भयो त ? बैंकमा निरन्तर निक्षेप थुप्रिरहँदा कर्जा जानै छोडेको छ । बैंकले कमाउने भनेकै पैसाबाट हो । अझ त्यो पैसालाई जति चलायमान बनाउन सक्यो, त्यति नै बैंक नाफामा जान्छ । बैंकमा पैसा थुप्रिँदा होइन, रित्तो भयो भने चाँहि बैंक र मुलुककै अर्थतन्त्र चलायमान हुन पुग्छ ।
तर, केही वर्षयता बैंकबाट कर्जा प्रवाह हुनै छोडेको छ । बैंकमा ऋण माग्न जाने शून्य बराबर छ । कर्जाबाट बैंकले सबैभन्दा धेरै आम्दानी गर्दै आएको थियो । ऋण प्रवाहकै कारण बैंकहरु निरन्तर नाफामा गइरहेका छन् । एकातिर ब्याज पनि पाइने, अर्कोतिर ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै करोडौंको धितो लाखौंमा हड्पन पाइने ।यसरी बैंकले कमाउँदै आएको थियो भने बैंकका कारण धेरैले आफ्नो धितो गुमाए । पहिले भनिएभन्दा चर्को ब्याज असुल्दा तिर्न नसकेपछि धेरै ऋणीहरु करोडौंको धितो लाखमा गुमाएर सडकमा आइपुगे । अब भने बैंक यही हालतमा पुग्ने देखिएको छ । कारण हो, कर्जा प्रवाह नहुनु र धितोको मूल्य लगातार घट्नु । बैंकबाट ऋण प्रवाह शून्य बराबर भएको छ ।
उता, कर्जा लगानी गरेका ऋणीको धितोको मूल्य पनि लगातार घटिरहेको छ । अथवा बैंकले उठाउनु छ डेढ करोड धितो मूल्य झरेको छ ५० लाखमा । एउटै धितोमा बैंक एक करोड घाटामा छ । ऋणीले ऋण नतिरेपछि बैंकले धितो लिलाम गर्छ । पहिले पो धितोको मूल्य अकासिएको हुन्थ्यो र बैंकलाई नाफा हुन्थ्यो ।अहिले त ठ्याक्कै उल्टो छ । एकातिर धितोको मूल्य कौडीको भाउमा झरिरहेको छ, अर्कोतिर त्यही मूल्यमा पनि बिक्री हुँदैन । धितो बिक्री नभएपछि बैंकले ऋण उठाउन सक्दैन । अनि यसो हुनेबित्तिकै बैंक संकटमा पर्छ । सहकारी पनि यसरी नै डुबेको थियो, अब बैंक पनि यही अवस्थामा पुग्ने धेरैको दाबी छ । योसँगै अहिले कर्जा प्रवाह नभएपछि बैंकहरुले धमाधम राष्ट्र बैंकमा पैसा राखिरहेका छन् ।
राष्ट्र बैंकले दुई प्रतिशत ब्याज दिएर पैसा लिइरहेको छ । तर, त्यो पैसा सरकारी खर्चमा प्रयोग गरिन्छ । वैदेशिक ऋणको साँवाब्याज तिर्न, कर्मचारी, जनप्रतिनिधिलाई तलब, भत्ता वा पेन्सन खुवाउन उक्त निक्षेपको प्रयोग गरिएको पाइन्छ । यसकारण बैंकहरुले राष्ट्र बैंकमा राखेको निक्षेप पनि जोखिममा रहेको देखिन्छ ।किनकि सरकारी प्रयोजनमा त्यो रकम खर्चिएपछि फिर्ता आउन वर्षौसम्म लाग्नसक्छ । फेरि ब्यान पाउने भनेको त्यँही दुई प्रतिशत हो । अर्कोतर्फ, सरकार ऋणैऋणमा छ । वैदेशिक ऋण मात्र झण्डै ३२ खर्ब पुगिसकेको छ । देशभित्रै पनि निर्माण व्यवसायीको ४५ अर्ब, कारोना बीमाको २४ अर्ब, स्वास्थ्य बीमाको ४३ अर्ब, दुध तथा उखु किसानको सात अर्ब बक्यौता दिन बाँकी छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी विध्वंशमा ८४ अर्ब ७७ करोड ४५ लाख बराबरको सरकारी सम्पत्ति खरानी बनेको छ । निजी क्षेत्रको पनि २७ खर्बको सम्पत्ति ध्वस्त भएको छ । यो पुनःनिर्माणका निम्ति यति नै रकम आवश्यक पर्छ । अनि कहाँबाट ल्याउने ? सरकारी दैनिक खर्च करोडौं छ । कर्मचारी, जनप्रतिनिधिलगायतको तलबभत्ता र पेन्सनमा मात्र मासिक खर्बौ रकम चाहिन्छ ।
अन्य सेवासुविधा अलग्गै छ । जसमा पनि खर्बौ खर्च हुने गर्दछ । सरकारको खर्च लगातार बढ्दो छ, आम्दानी शून्य । यस्तो अवस्थामा अहिले सरकारले बैंकहरुले राष्ट्र बैंकमा राखेको निक्षेप ऋणका रुपमा चलाइरहेको छ । सरकारले पहिल्यैकै ऋण तिर्न सकेको छैन, यो कसरी तिर्नसक्छ त ? यसले राष्ट्र बैंकमा बैंकहरुले राखेको निक्षेप जोखिममा देखिन्छ ।बैंकको निक्षेप जोखिममा पर्नु भनेको केबल बैंक डुब्नुमात्र होइन, बैंकसँग जोडिएका करोडौं बचतकर्ता डुब्नु हो । जीवनभर दुःख गरेर, विदेशमा रगतपसिना बगाएर कमाएको पैसा थोरै ब्याजको प्रलोभन र विश्वासमा परी सहकारीमा राखेकाहरु त चुलुम्मै भइहाले । अब भने बैंकका बचतकर्ताको पालो आएको देखिन्छ ।
बैंक संकटमा पर्न थालिसकेको छ भने फलस्वरुप केही बैंक टाट पल्टिन पनि थालिसकेका छन् । यही अवस्था रहने हो भने सरकारीदेखि निजी क्षेत्रसम्मका सबै बैंक डुब्नसक्ने जानकारहरु बताउँछन् । स्मरण रहोस् सहकारीको कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा थियो । र, बैंकको पनि यिनै क्षेत्रमा छ । यो क्षेत्रमा पछिल्ला वर्षमा व्यापक मन्दी छ । दलालहरुले बढाएको कृत्रिम मूल्य पहिल्यैकै अवस्थामा फर्किन थालेको छ । रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य जमिन भूमाफियाहरुले खण्डीकरण गरेर आनाकै २५ लाखदेखि करोडौंमा बेचे । एक रोपनी जमिनमा १६ आना हुन्छ ।
छिमेक भारत र चीनले ५० हजारदेखि बढीमा पाँच लाखमा बनाएको गाडी अटो शोरुमहरुले डेढ लाखदेखि करोडौंमा बेचे । गाडी बनाउँदा प्रयोग हुने सामान कवाडीको भाउमा समेत बिक्री हुन्न । सेयर बैंक, वित्तिय संस्था, हाइड्रोपावर, बीमालगायत कम्पनीले एक सय रुपैयाँ प्रतिकित्तामा निष्काशन गरेका हुन् । तर, दलालहरुले मूल्य बढाएर ३२ सयसम्म पुर्याए ।
दलालको लहैलहैमा लागेर आम सर्वसाधारणले यी क्षेत्रमा लगानी गरे । आफूसँग भएको रकम त लगानी गरे नै सँगै बैंक, वित्तिय संस्थाबाट ऋण पनि लिए । मूल्य बढेको देख्दा र कमिशन पाएपछि बैंकले आँखा चिम्लेर यो क्षेत्रमा लगानी गर्यो । घरजग्गा, गाडी र सेयरमा लगानी गरेका सर्वसाधारण र सहकारी त डुबिसके । अब बैंक डुब्दैछ । यही क्षेत्रमा लगानी गरेकै कारण आज मुलुकको अर्थतन्त्रसमेत धरापमा परेको छ ।
यसरी दलालको लहैलहैमा लागेर गरिएको लगानीका कारण जनतादेखि बैंक, वित्तिय संस्था र सरकारसम्म डुब्ने अवस्थामा पुगेका छन् । अझै पनि समय छ । सरकारले कदम चालोस् । बैंक, वित्तिय संस्था तथा सर्वसाधारणलाई यी क्षेत्रमा थप लगानी गर्नबाट रोकोस् । यो क्षेत्र अनुत्पादक र विलासित हुन् भनेर सम्झाओस् ।नभए यो संकटले विकराल रुप लिन सक्नेछ । पूर्वराजा ज्ञानेन्द्र शाहले केही दिनअघि भनेका थिए, पहिला विकास भएन भन्ने चिन्ता थियो । अब देशै रहँदैन भन्ने चिन्ता बढ्यो । यो चिन्तालाई हविगतमा परिणत हुन दिने कि आवश्यक कदम चाल्ने ? सरकारको हातमा छ ।







