राजा वीरेन्द्रको शालिकमा दुर्व्यवहार गरेको भन्दै रास्वपाप्रति राप्रपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले दाङको तुलसीपुरमा राजा वीरेन्द्रको शालिकप्रति दुर्व्यवहार गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ ।

रास्वपा सभापति रवि लामिछाने दाङ आउने क्रममा तुलसीपुर नगरपालिकाको वीरेन्द्र चोकमा रास्वपा कार्यकर्ताहरुले शालिकमाथि चढेर प्रदर्शन गरेका थिए ।

राप्रपाको लुम्बिनी प्रदेश सचिव राजेन्द्र अधिकारीले एक विज्ञप्ति जारी गर्दै रास्वपाले राजाको शालिमाथि अपमानजनक र अभद्र व्यवहार गरेकोमा ध्यानाकर्षण भएको बताएका छन् । राप्रपा लुम्बिनीले यो कार्यको घोर भत्र्सना एवं खेद प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कसैको आस्थामा असर पर्ने यस्तो खाले अराजकतापूर्ण व्यवहार सैह्य हुँदैन । तसर्थ यो गतिविधिको सम्बन्धमा तत्काल रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्न आग्रह गर्दछौं । साथै, यस्तो घटना फेरि नदोहोरिने प्रतिवद्धता गर्नहुन समेत आग्रह गर्दछौं ।’

निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण बनाउनु सबै पार्टीको दायित्व हुने भएकाले स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन र अन्य दललाई असर गर्ने कुनै कार्य नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *