सानिमा रिलायन्स लाइफको खुद नाफा २७ करोड ६१ लाख

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा २७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा १९.२१ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको हो।

गत वर्षको पुस मसान्तसम्म कम्पनीको नाफा २३ करोड १६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १४.२९ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो प्रिमियम ३ अर्ब ११ करोड ११ लाख रुपैयाँ मात्र थियो। यद्यपि, ऋण तथा लगानीबाट हुने आम्दानी भने सामान्य (२.१२ प्रतिशत) खुम्चिएर ७७ करोड ५८ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको जीवन बीमा कोषमा गत वर्ष १६ अर्ब ६० करोड ३३ लाख रुपैयाँ रहेको यो कोष अहिले ३१.९२ प्रतिशतले बढेर २१ अर्ब ९० करोड ३४ लाख रुपैयाँ पुगेको छ। यस्तै, महाविपत्ति जगेडा कोषमा पनि १८.५५ प्रतिशतको वृद्धि भई १७ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँमा स्थिर रहे पनि नाफा बढेका कारण प्रतिसेयर आम्दानी ९.३६ रुपैयाँबाट बढेर ११.०१ रुपैयाँ पुगेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *