नेपाल लाइफको व्यापार वृद्धि, जीवन बीमा कोष २ खर्ब ५५ अर्ब नाघ्यो

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यसरी कम्पनीको नाफा २७.४५ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोष १ अर्ब ५३ करोड रुपैयाँ, रिटेन्ड अर्निङ ६७ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटी १४ करोड ९२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म यी रकम क्रमशः १ अर्ब ४९ करोड ४० लाख, २ अर्ब २५ करोड ७८ लाख र २२ करोड ३६ लाख थिए।

कम्पनीको जीवन बीमा कोष चालु वर्ष पुससम्म २ खर्ब ५५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ खर्ब १७ अर्ब १४ करोड रुपैयाँ थियो। यसरी जीवन बीमा कोषको आकार १७.४८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले २५ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.६२ प्रतिशतले बढेको हो। खुद बीमाशुल्क २५ अर्ब ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ, जुन १५.३७ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको शेयरपुँजी ९ अर्ब ४८ करोड २ लाख रुपैयाँ रहेको छ। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ७.११ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ११.४१ रुपैयाँ थियो। कम्पनीको पीई रेसियो १०८.१९ गुणा र प्रतिशेयर नेटवर्थ १२४.८६ रुपैयाँ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *