ब्रिटिस कोलम्बिया । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित एक माध्यमिक विद्यालय र नजिकैको आवासीय क्षेत्रमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ।
दशकौँयताकै घातक मानिएको यो हिंसात्मक घटनाले शान्त मानिने टम्बलर रिज सहरलाई स्तब्ध बनाएको छ।
रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का अनुसार घटनास्थलमै छ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए।
अस्पताल लैजाँदै गर्दा थप एक जनाको मृत्यु भएको र संदिग्ध आक्रमणकारी पनि मृत फेला परेको प्रहरीले जनाएको छ।
आक्रमणकारीले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
गम्भीर अवस्थामा रहेका दुई जनालाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ भने अन्य २५ जनाको स्थानीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीले हाललाई सर्वसाधारणका लागि कुनै खतरा नरहेको स्पष्ट पारेको छ। यसअघि जारी गरिएको घरभित्रै सुरक्षित बस्न दिइएको आदेश पनि साँझतिर हटाइएको थियो।
घटनाको गाम्भीर्यलाई हेर्दै उक्त क्षेत्रका विद्यालयहरू साताभरका लागि बन्द गरिएको छ।
तथ्याङ्क अनुसार अमेरिकामा प्रति सय बासिन्दा १२१ वटा हतियार रहेका छन् भने क्यानडामा यो दर ३५ मात्र छ।






