६ महिनामा ४ खर्ब निक्षेप संकलन, कर्जा लगानी मात्र २ खर्ब

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घटेको छ भने निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह निकै कम देखिएको छ। जसले बैंकहरूमा तरलता बढाएको छ ।

वाणिज्य बैंकहरूको औसत कर्जा ब्याजदर ७.१२ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ८.६९ प्रतिशत थियो । विकास बैंकको कर्जा ब्याजदर ८.३४ प्रतिशत र वित्त कम्पनीको ९.७३ प्रतिशत पुगेको छ । निक्षेपकर्ताले पाउने ब्याज पनि घटेर वाणिज्य बैंकको भारित औसत निक्षेप ब्याजदर ३.५६ प्रतिशत मा सीमित भएको छ। जुन अघिल्लो वर्ष ४.७५ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन उत्साहजनक देखिए पनि कर्जा प्रवाह भने त्यसको तुलनामा आधा मात्र भएको छ । समीक्षा अवधिमा निक्षेप ४ खर्ब १७ अर्ब ४८ करोडले बढेर कुल ७६ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ, जुन ५.७ प्रतिशतको वृद्धि हो । तर, सोही अवधिमा निजी क्षेत्रतर्फ जाने कर्जा १ खर्ब ९७ अर्ब ४७ करोडले मात्र बढेको छ । हाल निजी क्षेत्रमा कुल ५६ खर्ब ९५ अर्ब १७ करोड कर्जा प्रवाह भएको छ ।

बजारमा कर्जाको माग कमजोर हुँदा बैंकहरूमा पैसा थुप्रिएको देखिन्छ । तरलता बढेपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल र स्थायी निक्षेप सुविधामार्फत २८६ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा १३९ खर्ब ९९ अर्ब बराबरको तरलता प्रशोचन भएको थियो ।

बजारमा पैसा पर्याप्त भएपछि बैंकहरूबीचको सापटी ब्याजदर (अन्तर बैंक दर) २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको ब्याजदर २.३५ प्रतिशतमा झरेको छ ।

अर्थतन्त्रमा मुद्रा प्रदायको स्थिति हेर्दा चालु आर्थिक वर्षमा विस्तृत मुद्राप्रदाय ५.४ प्रतिशतले बढेको छ भने अघिल्लो वर्ष यो वृद्धिदर ३.९ प्रतिशत थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपको संरचनामा मुद्दती निक्षेप ४२.८ प्रतिशत, बचत निक्षेप ४१.३ प्रतिशत र चल्ती निक्षेप ६.९ प्रतिशत रहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *