बजेटमाथिको छलफलमा सांसदहरू

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बजेटले मुलुकमा उत्पादन वृद्धि गर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उनले मुलुकमा मलको अभाव भएकाले किसानले मल पाउने अवस्था नरहेकाले सरकार त्यसतर्फ संवेदनशील बन्नुपर्नेमा जोड दिए । उनले किसानलाई खान, बस्न, शिक्षा स्वास्थ्यका क्षेत्रमा सहुलियत दिनसकेमा उनीहरू खुसी भई कृषि उत्पादन वृद्धि हुने बताउँदै त्यसले समग्र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने र देशको समुन्नति हुने विश्वास व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देव गुरुङले परमुखी रहेको अर्थतन्त्रलाई उत्पादनमा केन्द्रित गर्न बजेट महत्वपूर्ण रहेको बताउँदै विनियोजित खर्च विकास कार्यमा प्रयोग हुन नसक्दा अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । विदेशबाट लिएका ऋण उत्पादनमा लगाउनुपर्ने बताउँदै उनले अब ऋणको भार बढन दिन नहुने र कर वृद्धि गर्नुभन्दा पनि यसको दायरा बढाउनुपर्नेमा जोड दिए । तेल बढेकाले उपभोग्य वस्तु महँगो हुँदै गएका अवस्थामा विद्युतीय सामग्रीको उपभोग बढाउनुपर्ने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० लालबाबु पण्डितले विकासका अधुरा कुरामा बजेट विनियोजन नगरिएको टिप्पणी गर्दै बजेटमा केही महत्वकाङ्क्षी योजना राखिएको बताए । मजदुरको तलब वृद्धि हुन नसकेको उनले बताए । प्रतिनिधिसभा सदस्य रङ्गमती शाही, गोपालबहादुर बम टेकबहादुर बस्नेत सत्यनारायण शर्मा खनाल, हितबहादुर तामाङ, लक्ष्मीकुमारी चौधरी लीलादेवी सिटौला, समिना हुसेन, सुदन किराँती, सरवत आरा खानम, यज्ञराज सुनुवार, लक्ष्मी परियार, हेमकुमार राई नारायणप्रसाद खतिवडा, मिना सुब्बा, चाँदतारा कुमारी, दीपकप्रकाश भट्टलगायतले बजेटमाथि आफ्ना धारणा राखेका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *