खोटाङ/उदयपुर। खोटाङको बराहपोखरी–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी–१ को सिमानास्थित सुनकोशीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबारदेखि सञ्चालनमा आएको छ।
कोशी प्रदेश सरकारको ५७ लाख रुपैयाँ लगानीमा ५१.८१ मिटर लामो बेलिब्रिज गुरुकुल विल्डर्स एन्ड सप्लायर्सले जडान गरेको हो। बेलिब्रिज २०८३ साल जेठ पहिलो सातासम्म सञ्चालनमा रहनेछ।
लामो समयदेखि झोलुङ्गे पुलबाट आवतजावत गर्दै आएका स्थानीयलाई बेलिब्रिज सञ्चालनसँगै सहज यातायात उपलब्ध भएको छ।
सङ्घीय सरकारबाट बजेट नआएपछि प्रदेशको लगानीमा बेलिब्रिज जडान गरिएको बराहपोखरी गाउँपालिकाले जनाएको छ।
यसैबीच, दक्षिणी क्षेत्रलाई पूर्वी तराईसँग जोड्ने सुनकोशीको धाप्लाङघाटमा निर्माणाधीन २०० मिटर लामो मोटरेबल पुलको कामले गति लिएको छ।
२१ करोड ६५ लाख रुपैयाँ लागतको उक्त पुल ४३ प्रतिशत सम्पन्न भएको सडक विभागले जनाएको छ। थपिएको म्यादअनुसार पुल २०८४ जेठ १९ भित्र सम्पन्न गर्ने लक्ष्य छ।
सुनकोशीकै फोक्सिङटारमा यसअघि जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेल–गाईघाट सिधा यातायात पुनः सुचारु भएको छ।
गत वर्षको बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि यातायात विच्छेद भएको थियो।






