काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा–१ का उम्मेदवार सुधन गुरुङप्रति शंका गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।
गोरखाका मतदातालाई सम्बोधन गर्दै उनले गुरुङ देशलाई माया गर्ने व्यक्ति भएको बताए।
लामिछानेले गुरुङका केही शैली, राजनीतिक परिपक्वता र अभिव्यक्तिबारे प्रश्न उठ्ने गरेको भए पनि त्यसलाई कमजोरीका रूपमा नभइ समयसँगै सुधार हुँदै जाने प्रक्रियाका रूपमा बुझ्नुपर्ने बताए।
‘सुधन गुरुङका शैलीमा प्रश्न होला, उनका केही अभिव्यक्तिमा आलोचना हुन सक्छ। तर उनको भित्र देशप्रतिको गहिरो माया छ, यसमा मलाई कुनै शंका छैन,’ उनले भने।
उनले गुरुङलाई जेनजी आन्दोलनका घाइते, पीडित परिवार र सहिद परिवारका पक्षमा निरन्तर लड्ने योद्धाका रूपमा चित्रण गर्दै रास्वपाले उनलाई सँगै अघि बढाउने बताए। ‘हामी सबै मिलेर देशलाई माया गर्ने सुधन गुरुङलाई जिताएर अघि बढ्छौँ,’ उनले भने।
लामिछानेले गोरखाका मतदातालाई गुरुङलाई विजयी गराई संघीय संसदमा प्रभावशाली आवाजका रूपमा प्रस्तुत गर्न आग्रह गरे।







