काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरको छ। बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालू आवको पुस मसान्तसम्म १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकले गत आवको पुस मसान्तसम्म २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ४३ प्रतिशतले कमी हो।
यस अवधिमा खुद ब्याज आम्दानी भने घटेको छ। गत आवको पुस मसान्तसम्म ७ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख रुपैयाँमा झरेको छ।
त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी दोस्रो त्रैमाससम्म ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ छ।
आम्दानीमा गिरावट आएपछि बैंकको सञ्चालन नाफामा पनि गिरावट देखिएको छ। गत आवको पुस मसान्तसम्म ४ अर्ब ४ करोड ३३ अर्ब रुपैयाँ सञ्चालन नाफा गरेको यस बैंकको चालू आवको पुस मसान्तसम्म भने घटेर २ अर्ब ३३ करोड ८७ लाख रुपैयाँमा झरेको छ। नाफा घटेपछि बैंकको प्रतिशेयर आम्दानी पनि १६.६० रुपैयाँबाट घटेर ९.४५ रुपैयाँमा झरको छ।
त्यसैगरी गत आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा (एनपीएल) ५.८६ प्रतिशत रहेकोमा चालू आवको पुस मसान्तसम्म बढेर ७.९० प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १९४.७७ रुपैयाँ रहेको छ।
यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ३ अर्ब ६१ करोड १० लाख रुपैयाँ ऋणात्मक भए पनि रिजर्भ कोषमा ३५ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ सञ्चिति रहेको छ।
बैंकले ३ खर्ब २८ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरी ५ खर्ब १९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।






