काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापारिक साझेदारी अघि बढाएमा क्यानडाबाट आयात हुने सबै सामानमा १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्।
शनिबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले क्यानडाले चीनसँग कुनै पनि प्रकारको व्यापार सम्झौता गरे अमेरिकामा भित्रिने क्यानाडाली उत्पादनमा शतप्रतिशत अतिरिक्त ट्यारिफ लगाइने स्पष्ट पारेका हुन्।
ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको चीनप्रति बढ्दो झुकावको आलोचना गर्दै क्यानडालाई चीनले अमेरिकी बजारमा सामान पठाउने ‘ड्रप अफ पोर्ट’ बनाउन खोजिएको आरोप लगाए।
चीनको बढ्दो प्रभावले क्यानडाको व्यवसाय, सामाजिक संरचना र जीवनशैलीमा नकारात्मक असर पर्ने उनको दाबी छ।
यसअघि प्रधानमन्त्री कार्नीले चीनसँगको रणनीतिक साझेदारीको पक्षमा धारणा राख्दै अमेरिकी नेतृत्वमा आधारित विश्व व्यापार व्यवस्थामा देखिएको विभाजनप्रति चिन्ता व्यक्त गरेका थिए।
गत साता बेइजिङ भ्रमणका क्रममा उनले चीनसँगको नयाँ व्यापार सहकार्यलाई ‘प्रारम्भिक तर ऐतिहासिक सम्झौता’को संज्ञा दिएका थिए।






