कृषि र उद्योगको मूल्य सूचकाङ्क उकालो, निर्माण क्षेत्रको लागत घट्दो

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिका कृषि, उद्योग र निर्माण क्षेत्रसम्बन्धी मूल्य तथा उत्पादनका प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ।

तथ्याङ्कअनुसार कृषि उत्पादक मूल्यमा निरन्तर वृद्धि देखिएको छ भने औद्योगिक उत्पादनमा मध्यमस्तरको विस्तार भएको छ। यता, निर्माण क्षेत्रको लागत मूल्य भने त्रैमासिक आधारमा घटेको छ।

कार्यालयका अनुसार पहिलो त्रैमासिकमा कृषि उत्पादक मूल्य सूचकाङ्क १९३.७२ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५० प्रतिशतले बढी हो।

यस वृद्धिको मुख्य कारण अन्नबाली—धान, मकै र कोदो—को उत्पादक मूल्य बढ्नु हो, जसले सूचकाङ्कमा करिब ५८ प्रतिशत भार ओगट्छ।

दूध, अण्डा र माछाजस्ता पशुपन्छीजन्य उत्पादनको मूल्य बढ्नुले पनि सूचकाङ्कलाई माथि धकेलेको छ।

यसले कृषकको आम्दानीमा केही सुधार देखाए पनि खाद्य मुद्रास्फीतिमा दबाब बढ्न सक्ने संकेत गरेको छ।

उद्योगतर्फ समग्र औद्योगिक उत्पादक मूल्य सूचकाङ्क १६४.२६ कायम भएको छ, जुन वार्षिक आधारमा करिब ३ प्रतिशतको वृद्धि हो।

कच्चा पदार्थ, ऊर्जा र श्रम लागत बढेकाले लागत दबाब बढेको देखिन्छ। सिमेन्ट, वनस्पति तेल, सुर्तीजन्य उत्पादन, साबुन–डिटर्जेन्ट तथा केही खाद्य र पेय पदार्थ उद्योगमा मूल्य वृद्धि बढी केन्द्रित छ।

यद्यपि खाद्य तेल, पेट्रोलियमजन्य वस्तु र रासायनिक पदार्थको उत्पादन बढे पनि निर्माणसँग सम्बन्धित उद्योग—सिमेन्ट र फलाम—तथा कपडा उद्योगको उत्पादन उल्लेखनीय रूपमा विस्तार हुन सकेको छैन।

दाना, चामल, फलामजन्य वस्तु, प्लास्टिक पाइप–फिटिङ र इँटाजस्ता सामग्रीमा उत्पादक मूल्य वृद्धिदर कमजोर वा ऋणात्मक देखिएको छ, जसले निर्माण गतिविधि सुस्त र बजारमा प्रतिस्पर्धात्मक दबाब कायमै रहेको संकेत गर्छ। औद्योगिक उत्पादन सूचकाङ्क भने १२५.२ पुगेको छ।

निर्माण क्षेत्रको लागत मूल्य सूचकाङ्क पहिलो त्रैमासिकमा १५२.३ कायम भएको छ।

वार्षिक आधारमा लागत १.४ प्रतिशतले बढे पनि अघिल्लो त्रैमासिकको तुलनामा १.३९ प्रतिशतले घटेको छ।

सिमेन्ट, आइरन रड, बालुवा, काठ र रोडाजस्ता उच्च भार भएका सामग्रीको मूल्य घट्नु यसको मुख्य कारण हो। तर दीर्घकालीन रूपमा निर्माण सामग्री र श्रमिकको ज्यालामा दबाब भने कायमै रहने देखिन्छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यी प्रारम्भिक नतिजा मुद्रास्फीति विश्लेषण, राष्ट्रिय लेखा अनुमान र तथ्यमा आधारित आर्थिक नीति निर्माणका लागि महत्वपूर्ण आधार बन्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *