जनकपुरधाम । नेकपा एमालेबाट महोत्तरी क्षेत्र नम्बर ४ मा एकल सिफारिस भएका पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले आसन्न निर्वाचनका लागि मनोनयन दर्ता गराएनन् ।
आफ्ना क्षेत्रका जनताको सुझावलाई सम्मान गर्दै उनले स्वेच्छिक रूपमा उम्मेदवारी नदिएर निलम अधिकारीलाई अगाडि सारेका हुन् ।
रातोपाटीसँग कुरा गर्दै यादवले जनताले आफूलाई पाँच वर्षका लागि जिताएर पठाएको र अधुरा काम पहिले पूरा गर्न सुझाव दिएको बताए।
‘जनताले हामीले तपाईंलाई पाँच वर्षका लागि जिताएर पठाएका छौं, अधुरा काम पहिले पूरा गर्नुस् भन्दै सुझाव दिएका छन्,’ यादवले भने, ‘जनताको यही भावना र क्षेत्रीय सल्लाहलाई सम्मान गर्दै मैले स्वेच्छिक रूपमा उम्मेदवारी नदिएको हुँ ।’
यादवले जनताको भावनाको कदर गर्दै महोत्तरी क्षेत्र नम्बर ४ बाट अधिकारीलाई एमालेको तर्फबाट उम्मेदवारका रूपमा अगाडि सारेको जानकारी दिए । सोही अनुसार एमालेबाट महोत्तरी क्षेत्र नम्बर ४ मा अधिकारीको उम्मेदवारी दर्ता गराइएको छ ।






