हुम्ला । हिमाली जिल्ला हुम्लाका सात सामुदायिक विद्यालयमा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नयाँ भवन निर्माण हुने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार पाँच वटा गाउँपालिकाका विद्यालय भवन निर्माणका लागि कार्यक्रम स्वीकृत गरिएको हो ।
एकीकृत शैक्षिक तथ्यांक व्यवस्थापन प्रणाली (ईएमआईएस) मार्फत अद्यावधिक गरिएको भौतिक सर्वेक्षणका आधारमा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ ।
छनोटअनुसार एक विद्यालयमा आठ कोठे, एक विद्यालयमा चार कोठे र पाँच विद्यालयमा दुई कोठे भवन निर्माण गरिनेछ ।
कार्यक्रमअन्तर्गत सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट दुई–दुई, नाम्खा, सर्केगाड र ताजाकोट गाउँपालिकाबाट एक–एक विद्यालय छनोटमा परेका छन् ।
सिमकोटबाट बालमन्दिर मावि र शैपाल हिमाल मावि, खार्पुनाथबाट हुम्ला मावि राया र शंकर मावि थाली, नाम्खाबाट नाम्खुम महामाया गुम्बा याल्वाङ, सर्केगाडबाट कोट मावि रोडिकोट तथा ताजाकोटबाट धर्मोदय मावि मैला छनोट भएका छन् ।
मन्त्रालयका अनुसार आठ कोठे भवनका लागि प्रति विद्यालय १ करोड ३० लाख, चार कोठे भवनका लागि ६५ लाख र दुई कोठे भवनका लागि ३२ लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइनेछ ।
यसका लागि कुल ३ करोड ५७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सम्बन्धित गाउँपालिकामार्फत बजेट निकासा गरी भवन निर्माण अघि बढाइने मन्त्रालयले जनाएको छ ।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सरकारले २०७७ सालदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विस्तार गर्दै राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।






