दुबई इन्टर्नसिपको नाममा विद्यार्थी ठगीप्रकरण: ‘द ब्रिटिस कलेज’ माथि सीआईबीको छानबिन

काठमाडौँ । दुबईमा इन्टर्नसिप गराइदिने आश्वासन दिएर विद्यार्थीबाट रकम असुली ठगी गरेको आरोप लागेपछि थापाथलीस्थित द ब्रिटिस कलेजमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

विद्यार्थीहरूबाट ठगी भएको गुनासो सार्वजनिक भएपछि सीआईबी सक्रिय भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका सल्लाहकार अभिषेक घिमिरेले सीआईबीले औपचारिक रूपमा अनुसन्धान सुरु गरिसकेको पुष्टि गरे ।

‘विद्यार्थीहरूबाट उजुरी आएपछि सीआईबीले आफ्नो प्रक्रिया अनुसार अनुसन्धान थालेको छ,’ उनले भने, ‘प्रारम्भिक विवरण हेर्दा विद्यार्थीलाई भ्रामक आश्वासन दिएर शुल्क असुलिएको देखिन्छ ।’

घटनासँगै शिक्षा मन्त्रालयले पनि कलेजले अनुमति नलिई सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रममाथि कडाइ गर्ने तयारी गरेको छ ।

मन्त्रालयका अनुसार नेपालमा एक वर्ष अध्ययन गराएर त्यसपछि विदेश पठाई इन्टर्नसिप गराउने भनिएका कार्यक्रम सञ्चालनका लागि मन्त्रालयबाट कुनै स्वीकृति लिइएको छैन ।

त्यसैले यस्ता कार्यक्रम तत्काल खारेज गर्ने र आवश्यक परे स्नातक तहसम्मका शैक्षिक कार्यक्रम रद्द गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

विद्यार्थीहरूको उजुरीपछि मन्त्रालयले गठन गरेको छानबिन समितिले हालै प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनका आधारमा कलेजमाथि कारबाही प्रक्रिया अघि बढाइने सल्लाहकार घिमिरेले बताए

‘छानबिन समितिको प्रतिवेदनले देखाएको तथ्यका आधारमा कारबाही हुन्छ,’ उनले भने, ‘मन्त्रालयबाट स्वीकृति नलिइ सञ्चालन गरिएका कार्यक्रम कानुनतः मान्य हुँदैनन् ।’

सीआईबीले विद्यार्थी, कलेज प्रशासन र सम्बन्धित निकायसँग बयान लिने तथा कागजात संकलन गर्ने काम अघि बढाएको जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार आवश्यक परे कलेजको शैक्षिक मान्यता, भर्ना प्रक्रिया, शुल्क संरचना र विदेशसँग गरिएको भनिएको सहकार्यसमेत गहिरो अनुसन्धान गरिनेछ ।

उक्त कलेजमा अध्ययनरत केही विद्यार्थीहरूले दुबईमा इन्टर्नसिपको व्यवस्था मिलाइदिने भन्दै ठूलो रकम असुलिएको तर सम्झौता अनुसारको अवसर नपाएको भन्दै उजुरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *