इरान र भेनेजुएलाको संकेतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

लन्डन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । वर्षौँयताकै ठूलो सरकारविरोधी प्रदर्शन नियन्त्रणमा रहेको इरानको दाबीपछि सोमबार तेल बजार दबाबमा परेको हो ।

सप्ताहन्तमा इरानमा भड्किएका विरोध प्रदर्शनका क्रममा सयौँको मृत्यु भएको खबर आइरहँदा सोमबार इरानका विदेशमन्त्री अब्बास अराक्चीले अवस्था पूर्ण नियन्त्रणमा रहेको बताएका थिए ।

साथै, भेनेजुएलामा अमेरिकी सैनिक कारबाहीपछि विकसित घटनाक्रमबीच तेल निर्यात पुनः सुरु हुने संकेत मिलेपछि पनि बजारमा गिरावट आएको हो ।

सोमबार लन्डनस्थित आईसीई एक्सचेन्जको कोमेक्स डिभिजनमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ०.५ प्रतिशत घटेर प्रतिब्यारेल ६३.०३ डलरमा झरेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ३१ सेन्ट कम हो ।

उता न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा अमेरिकी बेन्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) पनि ०.६ प्रतिशत घटेर प्रतिब्यारेल ५८.७६ डलरमा आएको छ, जुन ३६ सेन्टले कम हो ।

युरोपेली सेयर बजारमा देखिएको कमजोरी र कच्चा तेल आपूर्तिमा थप अवरोधको आशंका कमजोर बन्दै जाँदा मूल्य घटेको यूबीएसका विश्लेषक जियोभान्नी स्ताउनोभोले बताएका छन् ।

गएको हप्ता इरानमा प्रदर्शन दबाउने प्रयास तीव्र भएपछि ब्रेन्ट र डब्ल्यूटीआई दुवैको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको थियो, जुन अक्टोबरयताकै सबैभन्दा ठूलो साप्ताहिक वृद्धि थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *