म्यादी प्रहरीमा १ लाख ३४ हजार जनाका लागि भर्ना खुल्दै, शुक्रबारदेखि आवेदन दिन सकिने

काठमाडाैं। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सरकारले देशभर करिब १ लाख ३४ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९ सय ८० जनाको भर्ना प्रक्रिया सुरु गर्दै दरखास्त आह्वान गरेको छ। इच्छुक व्यक्तिले आगामी शुक्रवारदेखि एक हप्ताभित्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा गएर आवेदन दिन सक्नेछन्।

म्यादी प्रहरीमा भर्ना हुनका लागि १८ देखि ५४ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन पाउनेछन्। साधारण लेखपढ गर्न जान्ने योग्यता तोकिएको यस भर्नामा पुरुषको उचाइ कम्तीमा ५ फिट र तौल ५० केजी तथा महिलाको उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी हुनुपर्ने प्रावधान छ। पूर्व नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वनरक्षकबाट अवकाश पाएका व्यक्तिहरूलाई भर्ना प्रक्रियामा प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

४० दिनको सेवा अवधिका लागि छनोट भएका म्यादी प्रहरीले नेपाल प्रहरीका जवानको सुरु तलब स्केल सरह दैनिक ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले कुल ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक पाउनेछन्। यसका अतिरिक्त उनीहरूले रासन बापतको रकम सम्बन्धित जिल्लाको दररेट अनुसार, गाडी भाडा एकमुष्ट ८ सय ४६ रुपैयाँ र ४ दिनको खाजा खर्च १ हजार २ सय रुपैयाँ प्राप्त गर्नेछन्। पोसाक बापतको रकम पनि प्रहरी प्रधान कार्यालयले तोकेको दररेट अनुसार उपलब्ध गराइनेछ र सबै रकम व्यक्तिको व्यक्तिगत बैंक खातामा जम्मा गरिनेछ।

छनोट प्रक्रिया आगामी माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ। कर्तव्य पालनाको सिलसिलामा घाइते भएमा उपचार खर्च र मृत्यु भएमा आश्रित परिवारले सरकारबाट तोकिए बमोजिमको क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ। यदि कुनै कारणले करार अवधि नसकिँदै काम छाड्नुपर्ने परिस्थिति आएमा २० दिन वा सोभन्दा बढी काम गरेका म्यादी प्रहरीले काम गरेको दिनसम्मको सेवा सुविधा पाउनेछन्। निर्वाचन स्थगित वा रद्द भएमा भने नियुक्ति स्वतः रद्द हुने र अन्य प्रक्रियाहरू ‘एकीकृत कार्यविधि-२०८२’ अनुसार हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *