काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको दाबी गरेका छन्।
मंगलबार नेपाल इन्जिनियर्स एशोसिएसनले आयोजना गरेको ‘मन्त्रीसँग इन्जिनियरका कुरा : पेशागत मुद्दा सम्बोधन’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिसिङले उक्त दाबी गरेका हुन्।
कार्यक्रममा सहभागी एक युवाले ‘तपाईं रास्वपाको मन्त्री हो कि नागरिक सरकारको मन्त्री ?’ भन्ने प्रश्न उठाएपछि घिसिङले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन।’ती युवाले थप प्रश्न गर्न खोजेपछि आयोजकले कार्यक्रमभित्र राजनीतिक प्रश्न गर्न नपाइने भन्दै हस्तक्षेप गरेका थिए।
तर, घिसिङको यो दाबी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको उनको भूमिकासँग मेल नखाने देखिन्छ। गत पुस १४ गते भएको सहमतिअनुसार रास्वपाले घिसिङलाई उपसभापति बनाएको थियो। घिसिङको संरक्षणमा रहेको ‘उज्यालो पार्टी नेपाल’ र रास्वपाबीच एकता हुँदा उपसभापति पद सिर्जना गरी उनलाई जिम्मेवारी दिइएको थियो।
जेन–जी आन्दोलनको बलमा बनेको नागरिक सरकारका मन्त्रीहरू क्रमशः दलगत राजनीतिमा संलग्न हुँदै गएपछि व्यापक आलोचना भएको भन्दै प्रधानमन्त्री कार्कीले ऊर्जा मन्त्री घिसिङसहित खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।







