अर्थमन्त्री खनालले भने-‘कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छ’

काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही निःशर्त दिने व्यवस्था गरिएको उल्लेख गरे ।

आईटी क्षेत्रमा आफ्नो ज्ञान,सीप प्रयोग गरेर विदेशी पुँजी भित्र्याउन सहयोग गर्ने व्यवसायीको सहजताका लागि यो व्यवस्था गरिएको उनको भनाइ छ । उनले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमै फर्केर पनि सोही प्रकृतिको काम र पारिश्रमिकमा काम गर्नसक्ने वातावरण तयार गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्दै सरकार गृहकार्य गरिरहेका पनि बताए ।

नेपालबाटै रिमोर्ट वर्क गरेर विदेशी मुद्रा आर्जन गर्ने वातावरण निर्माण गर्नुपर्ने युवाहरुको मागलाई राज्यले गम्भीर रूपमा नबुझेको पनि बताए । उनले मुलुकको आर्थिक विकास र लगानीको वातावरण सिर्जना गर्न विद्यमान कानुनलाई अध्यादेशमार्फत संशोधन गर्नु उपयुक्त नठानेको स्पष्ट पार्दै उनले सामान्य नीति तथा नियममा आवश्यक संशोधन गर्ने कार्य भइरहेको पनि उल्लेख गरे । उनका अनुसार हालसम्म आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावली संशोधन गरिएका छन् । उनले कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउने कांग्रेस महामन्त्री गगन थापाको भनाइ वास्तविक र यथार्थपरक रहेको बताए ।

अर्थमन्त्री खनालले जेनजी विद्रोहपछि पर्यटन उद्योग एवं आन्तरिक एवं बाह्य लगानीका लागि उचित वातावरण बनि नसकेको भन्दै यसमा सरोकारवाला सबैले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *