उज्यालो नेपालले पठाएको १८ मध्ये रास्वपाले काटिदियो चार जनाको नाम

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक उम्मेदवारको बन्द सुचीमा उज्यालो नेपाल पार्टीका १४ जनाले स्थान पाएका छन् । समानुपातिक उम्मेदवारहरुको छनोट पार्टीका संरक्षण कुलमान घिसिङले आफ्नो एकल तजबिजमा गरेको पाइएको छ ।

उज्यालो नेपालले १८ जनाको सुची रास्वपालाई दिएको थियो । उक्त सुचीबाट चार जनाको नाम काटिएर १४ जना बन्दसुचीमा परेका हुन् । स्रोतका अनुसार नाम काटिनेमा ल्हाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमारराज सुबेदी र राजदेव रामको नाम काटिएको हो ।

बन्दसुचीमा समावेश १४ जनामध्ये दुईजना आआफ्नो क्लस्टरमा पहिलो नम्बरमा रहेका छन् । आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा डा. राम लामा र दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा रहेका हुन् । उनीहरु समानुपातिक सांसदमा निश्चित विजयी हुने निस्कर्ष पार्टीले निकालेको छ । साथै, थप ४–५ जनाले जित्न सक्ने आशा लिइएको एक केन्द्रीय सदस्यले बताए ।

उज्यालो नेपालबाट समानुपातिक सूचीमा परेकामध्ये ४ जना पार्टीका संरक्षक तथा उर्जामन्त्री कुलमान घिसिङका आफन्त र निकटस्थ रहेको पाइएको छ । आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा रहेका राम लामा कुलमानका भान्जा पर्छन् । राम र उनका भाइ लक्ष्मण कुलमानका तर्फबाट नेगोसिएसनमा पनि संलग्न थिए ।

लामासँग राजनीतिक पृष्ठभूमि भने नभएको बताइन्छ । उनी उर्जा व्यवसायी हुन् । मेकानिकल इन्जिनियरिङमा पीएचडी गरेका उनी एक दशकदेखि जलविद्युत क्षेत्रमा काम गरिरहेका छन् । आदिवासी जनजातिकै क्लस्टरमा आठौं नम्बरमा नाम रहेका धर्मलाल तामाङ पनि कुलमानका नातेदार हुन् । उनी कुलमानका भाइको ससुरा भएको बुझिएको छ । तामाङ भर्खरै मात्र एमाले छोडेर मात्र उज्यालो नेपालमा आएका थिए ।

आदिवासी जनजाति महिलाको क्लस्टरमा पुछारमा रहेकी तुलसा वाइवा उज्यालो नेपालको कार्यसचिवकी पत्नी भएको जनाइएको छ । स्रोतले उनी पनि कुलमानको नातेदार हुनसक्ने बताए पनि ठोकुवा गर्न सकेन । सुचीमा कुलमानका एक लगौंटिया साथी पनि अटाएका छन् । उनी हुन् खस आर्यको क्लस्टरमा १० औं नम्बरमा रहेका दुर्गाबहादुर सुबेदी । स्रोतका अनुसार सुबेदी कुलमानका बाल्यकालदेखिकै साथी हुन् । रामेछापमा उनीहरु छिमेकीसमेत थिए । सुबेदी नेकपा एस छाेडेर उज्यालाे नेपालमा आएका हुन् । उज्यालो नेपालबाट सिफारिस भएकामध्ये केहीलाई सो पार्टीका केन्द्रीय नेताहरुले नै चिन्दैनन् ।

एक केन्द्रीय सदस्यले भने, ‘५–६ जनाबाहेक अरुको नाम सुनेको थिइनँ ।’ पार्टीमा कुनै छलफल नगरिकन कुलमानले एकलौटी सिफारिस गरेको ती केन्द्रीय सदस्यको दावी छ । सुचीमा उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायलाई समावेश गरिएको छ । तर, उनी खस आर्यतर्फ छैटौं नम्बरमा रहेकाले सांसदमा दावेदारी कमजोर छ ।

आदिवासी जनजाति पुरुषतर्फ सिफारिसमा परेका डा. महेन्द्र लावतीले सार्वजनिक असन्तुष्टि पोखिसकेका छन् । स्रोतका अनुसार उनी क्लस्टरमा पछाडि परेकाले असन्तुष्ट बनेका हुन् । यदि आफूलाई पहिलो नम्बरमा पारिएको खण्डमा स्वीकार गर्ने सन्देश उनले पठाएको बुझिएको छ ।

उज्यालोकै कोटाबाट आदिवासी जनजाति महिलामा गायिका त्रिशला गुरुङको नाम पनि छ । उनी पाचौं नम्बरमा रहेकी छन् । यसैगरि माया डोल्मा लामा पनि सोही क्लस्टरमा अटाएकी छन् । खस आर्य महिलामा उज्यालोबाट सितादेवी पाण्डे र सरला लामिछाने समेटिएका छन् ।

यसैगरि थारु पुरुषतर्फ सोमप्रसाद चौधरी दोस्रो र थारु महिलातर्फ बालिका चौधरी चौंथो नम्बरमा रहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *