काठमाडौं। जेन्जी नेपालका संयोजक तथा संयुक्त जेन्जी आन्दोलनका प्रवक्ता कृष्ण मोहन सहनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कडा आरोप लगाएका छन्। उनले बन्दसूची प्रणालीको दुरुपयोग गर्दै पिछडिएका र सीमान्तकृत वर्गलाई लक्षित गर्ने नाममा धन र पहुँच भएका व्यक्तिलाई अगाडि सारिएको दाबी गरेका हुन्।
सहनीका अनुसार पछिल्लो समय अपनाइएको बन्दसूची प्रणालीमार्फत ठूला–ठूला धनाढ्य व्यक्तिलाई सांसद बनाइनु लाजमर्दो विषय हो। पिछडिएका, सीमान्तकृत र आवाजविहीन वर्गको प्रतिनिधित्व गराउने नाममा आर्थिक रूपमा सबल र पहुँच भएका व्यक्तिलाई सांसद बनाउनु जनतासँग गरिएको विश्वासघात हो, उनले भने।
उनले राजनीतिक परिवर्तनको नारा दिएर अघि आएका बालेन शाह र रवि लामिछानेले व्यवहारमा भने पुरानै राजनीतिक प्रवृत्तिलाई निरन्तरता दिएको आरोप लगाए। सहनीका अनुसार यस्तो अभ्यासले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको छ र वास्तविक पीडित वर्ग पुनः प्रतिनिधित्वबाट वञ्चित भएको छ।
सहनीकाे टिप्पणी- बन्दसूची प्रणालीको दुरुपयोग गरी आफ्ना नजिकका र आर्थिक रूपमा सबल व्यक्तिलाई अगाडि सार्नु नयाँ राजनीति होइन, यो त पुरानै राजनीतिक संस्कृतिको पुनरावृत्ति हो।
उनले जेन्जी पुस्ताले आशा गरेको वैकल्पिक राजनीति हाल देखिएको अभ्यासबाट कमजोर बन्दै गएको पनि बताए। जेन्जी पुस्ता वास्तविक परिवर्तन चाहन्छ, तर यहाँ नाम मात्रै परिवर्तन भएको छ, काम भने पुरानै शैलीमा भइरहेको छ, उनको भनाइ थियो।
सहनीले भविष्यमा यस्ता निर्णय र अभ्यासको विरोध अझ सशक्त रूपमा अघि बढाइने चेतावनीसमेत दिएका छन्।






