पर्सा। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किएको बताएका छन् ।
अर्थतन्त्रको रूपान्तरणका लागि केन्द्र र मधेश प्रदेशमा नेपाल राष्ट्र बैंकको भूमिका’ विषयक सरोकारवालाहरूसँग शुक्रबार वीरगंज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यातायात पूर्वाधार र विद्युत् क्षेत्रमा लगानी बढिरहेकाले आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने, ‘सबै क्षेत्रका समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंक प्रयासरत छ ।’
हाल अर्थतन्त्रमा स्रोतको भन्दा आत्मविश्वास वा मनोबलको कमी देखिएको गभर्नर पौडेलले बताए। उनले बैंकहरूलाई साना र पहुँचविहीन समुदायसम्म कर्जा पुर्याउन र निजी क्षेत्रसँगको सम्बन्ध सुमधुर बनाउन निर्देशन समेत दिए ।
व्यवसायका लागि ऋण पाउनु सबैको अधिकार हो भन्दै उनले ऋणका लागि कसैलाई भनसुन गर्नुपर्ने अवस्था आउन नहुने बताए । मधेश प्रदेशमा पर्यटन क्षेत्रमा नयाँ अवसरहरू रहेको र त्यसमा थप मिहिनेत आवश्यक रहेको उनको भनाइ थियो ।






