रिलायन्सले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति दिएको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासनको अनुमति दिएको हो ।

धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानूनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ ।’

स्वीकृतिसँगै अब रिलायन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया सुरु भएको छ । रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२०।८० रुपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रिया सुरु गरेको थियो । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरबले आईपीओ किनिसकेका छन् ।

रिलायन्स स्पिनिङ मिल्स अग्रणी औद्योगिक घराना गोल्याण ग्रुपको अभिन्न अंग हो । २०५४ मा स्थापित उद्योगले पछिल्लो समय उत्पादन र नाफामा उल्लेख्य सुधार गर्दै आएको छ । कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो ।

वित्तीय विवरणमा रिलायन्सको खुद नाफामा ८ सय ४५ प्रतिशत वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख ७८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *