काठमाडौं। गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका छन् । सुरक्षा विटमा कार्यरत पत्रकारसँगको भेटमा उनले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशंका नगर्न आग्रह समेत गरेका छन्।
सञ्चारकर्मीको जिज्ञाशामा उनले भनेका छन्,- ‘सरकारमा कुनै त्यस्तो समस्या छैन, गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीको एक सदस्यले राजीनामा गर्नुभएको छ । फेरि त्यसलाई पूर्णता दिएर अघि बढ्नुपर्ने हुन्छ । आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरेर त्यसलाई पूर्णता दिन्छौँ।’
मन्त्री लेखकले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र साधनस्रोत सम्पन्न सुरक्षा निकाय सदैव आफ्नो प्राथमिकतामा रहेकोले कानुनी र नीतिगत सुधारलाई पनि आफूले सँगसँगै अघि बढाइरहेको बताए ।
मन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन छलफलका लागि संसदीय समितिमा पुगिसकेका जानकारी दिँदै उनले मन्त्रालय जग्गा प्राप्ति, संस्था दर्ता र समाज कल्याणसम्बन्धी ऐन परिमार्जनको तयारीमा जुटेको बताए ।
‘हज र नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषदमा पुगेको छ, कारागारसम्बन्धी नियमावली आजै मन्त्रिपरिषदमा लैजाने गरी निर्णय भएको छ’, उनले भने, ‘अन्य महत्वपूर्ण कानुन चाँडै संसदमा लगिनेछ ।’
अध्यागमन प्रशासनलाई सुधार गर्न छुट्टै मापदण्ड बनाउन आफूले निर्देशन दिएको उल्लेख गर्दै पछिल्ला समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हुँदै आएको सेवा प्रवाहमा सुधार आएको स्पष्ट पारे ।
मातहतका निकायबाट कार्यसम्पादनका क्रममा कहिलेकाहीँ कमजोरी हुन सक्ने स्वीकार्दै उनले त्यसबाट सिकेर अगाडि बढिने स्पष्ट पारे । लोकतन्त्रमा आलोचना स्वीकार्य भएको जनाउँदै नेपाली कांग्रेसका नेता लेखकले कमिकमजोरी औँल्याइदिएर सहयोग गर्न सञ्चार जगतसँग आग्रह गरेका छन् ।






