काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।
चार खेल खेलिसकेको काठमाण्डु र तीन खेल मात्र खेलेको चितवनको समान चार अंक छ। अंक तालिकामा भने चितवन तेस्रो स्थानमा छ भने काठमाडौं चौथो स्थानमा छ। दुवै टिम आजको खेल जित्नैपर्ने दबाबमा छन्। चितवन कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन् ।
दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन्। चार खेलमा विराटनगरले एक खेल मात्र गुमाएर ६ अंक जोडेको छ भने तीन खेल खेलेको कर्णालीले एक खेल मात्र जितेको छ।
विराटनगर तालिकाको दोस्रो स्थानमा छ भने कर्णाली पाँचौं स्थानमा छ। विराटनगरका लागि थप सम्भावना भए पनि कर्णालीका लागि आजको खेल जित्नै पर्ने दबाब छ। कर्णालीका कप्तान सोमपाल कार्मी हुन् भने विराटनगरका कप्तान सन्दीप लामिछाने हुन् ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ । चारमा एक खेल गुमाएको विराटनगर ६ अंकसहित दोस्रो स्थानमा छ।
समान चार अंक भएका चितवन र काठमाण्डु तेस्रो र चौथो स्थानमा छन् । समान दुई अंक भएका कर्णाली, पोखरा र लुम्बिनी पाँचौं, छैटौं र सातौ स्थानमा छन् भने अंकबिहीन जनकपुर तालिकाको पुछारमा छ ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।







