काठमाडौं । हिमालयन बैंकमा लामो समयदेखि देखिएको वित्तीय संकट, ग्राहक सेवा अवरुद्धसँगै मुख्य सूचकहरुमा देखिएको निरन्तर गिरावटले प्राविधिक समस्या मात्र नभई दीर्घकालीन नेतृत्व संकट र संस्थागत अनियमितताको स्पष्ट संकेत देखाएको छ।
केहि दिनयता बैँकका ग्राहकले सहज रुपमा रकम निकाल्न नसक्ने अवस्था आएको छ भने इन्टरनेट र मोबाइल बैंकिङ ठप्प हुँदा ग्राहक मर्कामा परेका छन्। बैँकका विभिन्न शाखामा सेवा लिन घन्टौँ लाइन बस्न बाध्य हुने अवस्था सफ्टवेयर अपग्रेड समस्या भन्दापनि गम्भीर देखिएको छ।
त्यसमाथि बैँकका सिईओ अशोक शमशेर राणालाई सुरुवात देखि पदमा छन्। राष्ट्र बैंकको प्रावधानअनुसार एक व्यक्तिले दुई कार्यकालभन्दा बढी सीईओ हुन नपाउने नियम छ। तर, बोर्डले बारम्बार राणालाई पदमा राख्दै आएको छ, जसले गभर्नेन्स प्रक्रिया कमजोर भएको छ भने निर्णय स्वतन्त्र नभएको र दण्डहीनता प्रोत्साहित भएको गुनासो व्याप्त छ।
एकै व्यक्तिमा शक्ति केन्द्रित हुनु, आन्तरिक अनुगमन प्रणालीलाई कमजोर बनाउँछ र वित्तीय जोखिम बढाउँछ। यो केवल हिमालयन बैंकको समस्या मात्र नभइ यसले सम्पूर्ण बैंकिङ प्रणालीमा असर पर्ने बिश्लेशकहरु बताउँछन् ।
पद जोगाउनकै लागि साविकको सिभिल बैंकलाई प्राप्ति गरेका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शमशेर राणा सुरुदेखि निरन्तर पदमा रहँदै आएका छन्। वाफियाले बैंकका सिइओको कार्यकाल ४ वर्ष तोकेको छ । संचालक समितिले चाहेको खण्डमा अर्को १ कार्यकाल थप गरी दुई कार्यकालसम्म मात्र पदमा रहन मिल्ने व्यवस्था छ। तर, राणा भने १५ वर्षभन्दाबढी समयदेखि सिइओको पद ओगटेर बसेका छन्।
उच्च अदालत पाटनले गरेको सिइओको कार्यकालसम्बन्धी मुद्दाको व्याख्या अनुसार उनको कार्यकाल २०८२ साल बैसाख ९ गतेसम्म मात्र हो। वाफियाको प्रावधान विपरित पदमा रहँदै आएका सीइओ राणाले जबर्जस्ती पद ओगटिरहेका छन्।
उच्च अदालत पाटनले वाफिया ऐनको प्रावधानलाई स्पष्ट व्याख्या गर्दै भनिसकेको छ – ‘कुनै पनि बैंक वा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षको हुने र आवश्यक ठानेमा सञ्चालक समितिले पुनः नियुक्ति गर्न सक्ने तर २ कार्यकालभन्दा बढी नियुक्त गर्न मिल्दैन ।” यस्तो स्पष्ट निर्णयपछि पनि बैंकले नियमको उल्लंघन गर्दै राणा निरन्तर पदमा रहनुले नियामकीय निकाय नेपाल राष्ट्र बैंक र बैंकका सञ्चालकहरूकै नियतमा प्रश्न उठाएको छ।
नाजुक वित्तीय अवस्था
पहिलो त्रैमासमा हिमालयन बैंकको नाफा घटेर ७० करोड २८ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन नाफा घटेर १ अर्ब ५ करोड रुपैयाँमा झरेको छ भने बैँक कोवितरणयोग्य नाफा ७ अर्ब ५४ करोडले ऋणत्मक छ। हिमालय बैँकको खराब कर्जा वाणिज्य बैँकमध्यकै उच्च छ। बैंकको खराब कर्जा ७.३९% छ। गत वर्ष ४.९८% थियो। यी आकडाले बैंक सिस्टममात्र होइन, सम्पूर्ण वित्तीय रणनीति जोखिमपूर्ण छ भन्ने देखाउँछ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको मुनाफा घटेको छ । मुनाफा ३ प्रतिशतले कम भएर जम्मा ७० करोड २८ लाख छ । बैंकले प्रकाशन गरेको प्रथम त्रैमासको वित्तीय विवरण अनुसार बैंकको ब्याज आम्दानीमा देखिएको तर उठन बाँकी ब्याज ५९ करोड छ । बैंक अहिले ७ अर्ब ५४ करोड संचित नोक्सानीमा रहेको छ । एक वर्ष अघि संचित नोक्सानी ६ अर्थ ९९ करोड रहेको थियो ।
त्रासमा ग्राहक, निक्षप सुरक्षा खतरा
त्यसैगरी, बैंकको सिस्टम लामो समयदेखि डाउन हुँदा ग्राहकको खातामा अनधिकृत पहुँच, ह्याकिङ, र ट्रान्जेक्सन मैनिपुलेसनको जोखिम बढेको छ। प्रविधीको युगमा बैंकले आफ्नो जिम्मेवारी पूरा नगरेको र सुरक्षा जोखिम बढाएको ग्राहकको गुनासो छ।
त्यस्तै , लामो समय सेवा अवरुद्ध हुँदा बैंकका हजारौँ ग्राहकले खाता बन्द गरेका छन्। बैंकले ग्राहकको भरोसा गुमाएको छ भने सामाजिक सञ्जालमा समेत बैंकले ‘ग्राहक ठगि’ गरेको भन्दै चर्को आलोचना भैरहेको छ। योसँगै हिमालयन बैँक प्राविधिक समस्यामा मात्र नभई गुड गभर्नेन्स र व्यवस्थाकीयनेतृत्वमा समेत विफल भएको देखिन्छ।
त्यसमाथि हिमालयन बैंकको व्यवस्थापनमा बोर्डको निगरानी कमजोर हुँदा बैँकमा वित्तीय अनियमितता चरम रुपमा देखिएको छ। बढ्दो खराब कर्जा, मुख्य सूचकमा आएको निरन्तर गिरावट र वितरणयोग्य नाफा झन्डै ८ अर्ब नकारात्मक हुँदा बैँक वित्तीय जोखिममा छ।







