काठमाडौं । मदिरा पदार्थ सेवन गरी कार्यकक्षमै जुवातास खेलिरहेको अवस्थामा भेटिएका एनआईसी एशिया बैँक लिमिटेडका तीन जना कर्मचारी निलम्बित भएका छन्। कपिलवस्तु जिल्लाको तौलिहवास्थित शाखामा गत असोज ३१ गते शुक्रबार राती बैंकका शाखा प्रबन्धक निरज भुसालसहितका कर्मचारी मदिरा सेवन गर्दै जुवातास खेलिरहेको आपत्तिजनक अवस्थामा भेटिएका थिए।
उक्त घटना सार्वजनिक भएपछि बैंक तथा वित्तीय सँस्थाको सुशासनमाथि गम्भीर प्रश्न खडा भएको भन्दै चौतर्फी दवाव बढेपछि बैंकले १ महिनापछि आज ती कर्मचारीहरुलाई बर्खास्त गरेको हो। बैंकले आज साखा प्रबन्धक निरज भुसाल, कर्जा विभागका दामोदर अर्याल र कपिलवस्तु एक्सटेन्सन काउन्टरका क्यासियर बिशाल पराजुलीलाई बर्खास्त गरेको हो। भुसाललाई निलम्बन गरेसँगै बैंकले नयाँ साखा प्रबन्धकमा आज प्रबिन रायमाझीलाई नियुक्त गरेको छ।
२०८२ साल असोज ३१ गते राती करिब १० बजे कार्यालय समय समाप्त भइसकेपछि समेत बैंकको भवनमा बत्ती बलिरहेको र ढोका खुला देखिएपछि उनीहरूले शंका व्यक्त गर्दै प्रहरीलाई खबर गरेका थिए।
सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले घटनास्थलमा आकस्मिक छापा मार्दा बैंकका केही कर्मचारीहरू शाखा प्रबन्धक निरज भुसाल, रिकभारी विभागका सौरभ श्रीवास्तव, क्रेडिट रिकोभरीका रिलेसनसिप मेनेजर सुरज कुमार कसौधान, र पप्पु चौधरी मदिरा सेवन गर्दै तास खेल्दै गरेको अवस्थामा फेला परेका थिए । यस घटनाले बैंकको सुरक्षा प्रणाली, कर्मचारीको सँस्थागत आचरण र प्रशासनिक अनुशासनप्रति गम्भीर प्रश्न उब्जाएको स्थानीयहरुको गुनासोपछि बैँकले प्रहरीसँगको सहकार्यमा अनुसन्धान सुरु गरेको थियो।
उक्त घटनापछि बैंकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीहरूले आचरण संहिताविपरित यस्तो व्यवहार गर्नुले सम्पूर्ण बैंकिङ प्रणालीमाथि नै अविश्वास पैदा गरेको भन्दै एनआईसी एशियाबैंकको सामाजिक सञ्जाल तथा स्थानीय स्तरमा तीव्र आलोचना भएको थियो भने यस घटनाले वित्तीय संस्थाहरूमा निगरानी, आन्तरिक अनुशासन र सुरक्षा व्यवस्थाको पुनरावलोकन हुनुपर्ने आवाज चौतर्फी उठेको थियो।
यस्तो थियो सार्वजनिक भएको भिडियो:






