पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोस्रो चरणमा भारतका अन्य ठूला सहरहरुमा पनि प्रदर्शन हुनेछ । प्रेमगन्ज नेपाल–भारत दुवै देशमा एउटै मिति ३ भदौ अर्थात् १९ अगस्टमा एकैसाथ प्रदर्शन हुनेछ । लाखौं नेपालीभाषी बसोबास गर्ने भारतमा ‘प्रेमगन्ज’ चलचित्र नेपाली भाषामै प्रदर्शन हुन लागेको हो ।
प्रेमगन्जलाई ड्रिम्स थिएटर मोसन पिक्चरका सञ्चालक म्याबो ह्यङ्गले अल इन्डिया वितरण गर्न लागेको हो । फिल्म राम्रो बनेको र भारतमा पनि नेपाली चलचित्रको बजारको सम्भावना ठूलो रहेको र यो चलचित्रले राम्रो कमाई गर्नेमा आफू विश्वस्त रहेको म्याबो ह्यङ्गले बताए । नेपाली चलचित्रलाई भारतीय बजारसम्म लैजान कालिङपोङका कलाकार अनुज शर्मा र सिक्किमका कलाकार अमीर मेघीले सहजीकरण गरेका हुन् ।
परिच्छेद सेनको निर्देशनमा बनेको यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो ।