काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पार्टीले विशेष महाधिवेशनतिर जानु हुँदैन भन्दै चेतावनी दिएका छन् । जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले विशेष महाधिवेशनमा गए पार्टी विभाजनको जोखिममा पर्ने बताएका हुन् ।
विशेष महाधिवेशनका लागि विधानअनुसार हस्ताक्षर दर्ता भइसकेको भए पनि त्यसतर्फ अघि बढ्नु पार्टीका लागि घातक हुन सक्ने उनले बनाए । लेखकले भने, ‘हामीले नियमित कि विशेष, चुनावअघि गर्ने कि पछि भनेर महिना दिन छलफल गर्यौं, तर विशेष महाधिवेशनसम्म जानै हुन्न ।’
उनले विशेष महाधिवेशन माग गर्नेहरूको भावना समेट्दै क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम पूरा गरी पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने सुझाव दिए । उनका अनुसार, ‘विशेष महाधिवेशन गर्नु भनेको कांग्रेस जंगलभित्र पस्नुजस्तै हो, जहाँबाट बाहिर निस्कन गाह्रो पर्छ।’






