पुरुषतर्फको फाइनल खेलमा सिद्धार्थ बैंकले प्राइम कमर्शियल बैंकलाई २–० ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो। त्यस्तै, महिलातर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइ.एम.ई बैंकलाई १–० ले हराउँदै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ।

प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई बैंकको तर्फबाट ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। समापन समारोहमा बैंकका प्रमुख सञ्चालन अधिकृत (COO) विकास ढुंगानाले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरे।

प्रतियोगिता सुरु हुनुअघि बैंकका उप–प्रमुख कार्यकारी अधिकृत (DCEO) विनय दाहालले एन्फा रेफ्री अञ्जना सुनुवारलाई बल हस्तान्तरण गर्दै खेलको औपचारिक शुभारम्भ गरेका थिए।

यो प्रतियोगितामा पुरुषतर्फ १७ टिम र महिलातर्फ ९ टिमले सहभागिता जनाएका थिए। सहभागी टिमहरू विभिन्न बैंक तथा वित्तीय संस्थाबाट प्रतिनिधित्व गर्दै मैदानमा खेल भावना र सहकार्यको सन्देश फैलाएका थिए।

बैंकका विभिन्न विभागीय प्रमुख र कर्मचारीहरूको उपस्थिति रहेको सो कार्यक्रममा खेलकुद मार्फत सहकार्य, मित्रता र स्वास्थ्य सन्देश प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो।

कामना सेवा विकास बैंकले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा फुटसल कप प्रतियोगिता आयोजना गर्दै आएको छ। यसले कर्मचारीबीच आपसी सम्बन्ध सुदृढ गर्न, खेल भावना बढाउन र संस्थागत एकता बलियो बनाउन सहयोग पुगेको बैंकले जनाएको छ।

बैंकले आफ्नो १९औं वार्षिकोत्सवको मुख्य दिवस आगामी कात्तिक २७ गते बिहीबार देशव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। बैंकका अनुसार, यस रक्तदान अभियानमा देशभरका शाखा कार्यालयका कर्मचारी र ग्राहकहरू सहभागी हुने अपेक्षा गरिएको छ।

बैंकका प्रवक्ता अनुसार, “कामना सेवा विकास बैंक केवल वित्तीय सेवा प्रदायक मात्र होइन, सामाजिक उत्तरदायित्व पूरा गर्ने संस्थाको रूपमा पनि आफ्नो पहिचान मजबुत बनाउँदै गएको छ।”

फुटसल कपको सफल समापनसँगै बैंकले खेलकुदमा सक्रिय योगदान दिने प्रतिबद्धता दोहोर्‍याएको छ।