काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफू मन्त्री भएपछि मात्रै पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
जेनजीको आन्दोलनपछि गठित अन्तरिम सरकारमा मन्त्री बनेका पुनले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा मतदानमा सहभागी हुनका लागि पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहेको कार्यालयमा पुगेर मतदाता नामावली पहिलो पटक नाम दर्ता गराएको कार्यालयका प्रमुख ठाकुरप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । मतदाता नामावली दर्ता गर्न १६ वर्षकै उमेरमा पाउने र १८ वर्ष पुगेपछि मतदानको अधिकार भए पनि पुनले ७० वर्ष उमेर पुगेपछि, त्यो पनि मन्त्री बनेपछि मात्रै मतदाता नामावली दर्ता गराएका हुन् ।
मतदाता नामावली दर्ता गर्दै शिक्षामन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजी पुस्ताका सबैलाई मतदाता नामावली दर्ता गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘आम चुनावमा भोट दिनका लागि जिन्दगीमा पहिलो चोटि नयाँ बानेश्वर गएर नाम दर्ता गरियो । १८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीलाई अल्छी नगरीकन २१ फागुनको आम चुनावमा भाग लिनका लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु ।’
उनले लेखेका छन्, ‘भगवान् कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन । यो कुरा समयान्तरमा ध्रुव सत्य साबित भइसक्यो । लौ त भाइबहिनीहरू भोटर लिस्टमा नाम लेखाउन गैहाल त ।’
शिक्षामन्त्री पुनले ३ दिन अघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रतिलिपि लिनुका साथै राष्ट्रिय परिचयपत्रका लागि पनि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनबाट ५२ वर्ष अघि २०३० सालमा नेपाली नागरिकता लिएका उनले पुरानो नागरिकता झुत्रो भएपछि प्रतिलिपि लिएका थिए ।






