काठमाडाैं। सामाजिक अभियन्ता कृष्ण मोहन सहनीले मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलमाथि किसानको पीडा बेवास्ता गर्दै उद्योगपतिहरूको पक्षमा नीति लिने गरेको कडा आरोप लगाएका छन्। सहनीका अनुसार, मधेस प्रदेश कृषि क्षेत्रको हब भएको भए पनि सरकारका प्राथमिकतामा किसानको मुद्दा पछाडि परिरहेको छ। उनले भने, किसानहरू मर्न बाध्य भइरहेका छन्, तर मुख्यमन्त्रीलाई त्यसको कुनै मतलब छैन। उद्योगको बिजुली केहिबेर काटिँदा भने वाइ लाग्छ।
उनले मुख्यमन्त्री सोनलमाथि पदमा बसेको एक महिनाभित्रै पनि कुनै ठोस निर्णय लिन नसकेको, किसानहरूका समस्या सम्बोधन गर्न असफल भएको र व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाए। सहनीका शब्दमा, जो किसानको हुन सक्दैन, त्यो जनताको पनि हुन सक्दैन। यस्तो व्यक्तिलाई मधेसका जनताले मुख्यमन्त्रीका रूपमा स्वीकार्दैनन्।
मुख्यमन्त्री सोनलले उद्योगको बिजुली कटअफ हुँदा १० हजार मजदुर बेरोजगार हुने भन्दै तत्काल बिजुली आपूर्ति गर्न निर्देशन दिएका थिए। तर सहनीले त्यस भनाइको प्रतिवाद गर्दै भने, यदि उद्योग बन्द हुँदा १० हजार मजदुर बेरोजगार हुन्छन् भने, लाखौं किसान पिडित हुँदा त्यसको कुनै मोल नहुने ? यो मुख्यमन्त्रीको नालायकीपन हो।
सहनीले तमाम घटक दलका नेताहरूसँग अनुरोध गर्दै भने, विश्वासको मत दिने बेलामा ती किसान, मजदुर र मधेशका सहिदहरूलाई सम्झनुहोस्। उनले थपे, यदि मुख्यमन्त्रीसँग अझै केही नैतिकता बाँकी छ भने, जनताबीच आएर विगत तीन कार्यकालमा गरेका विकास योजनाहरूको विवरण प्रस्तुत गर्नुपर्छ र जनताको साझा सवालको जवाफ दिनुपर्छ।







