काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडमा सिईओ सुजित कुमार शाक्यले आज पदबहाली गरेका छन्। शाक्यको पदबहालीपछि बैँकले आज नियामक निकाय नेपाल राष्ट्र बैँकलाई समेत पत्र पठाएर शाक्यलाई सिईओको पदबहाली भएको जानकारी गराएको हो।
राष्ट्र बैँकका अनुसार शाक्य १५ लाख तलबमै काम गर्न तयार भएका छन्। यस अघिका सिईओ रोशन कुमार न्यौपानेले भने झन्डै ३० लाख रुपैयाँ तलबका काम गरेका थिए।
नबिलका डेपुटी सिईओ रहेका शाक्यलाई बैँक संचालक समितिले निकाल्ने तयारी गरिरहेकै बेला शाक्यले एनआईसी एशियाका अध्यक्ष तुलसीराम अग्रवालका दाजु त्रिलोकचन्द्र अग्रवालको फेरो समातेर न्युनतम तलब सुबिधामै बोर्डको निर्देशनअनुसार काम गर्न तयार भएको बुझिएको छ।
शाक्यलाई बैँकले ४ बर्षका लागि सिईओ नियुक्त गरेको छ । तर, राष्ट्र बैँकका एक अधिकारीका अनुसार कुनै पनि बैँक तथा वित्तीय सँस्थामा पूरा कार्यकाल काम नगरी बोर्ड तथा व्यवस्थापनसँगको मनमुटावका कारण भिआरएस लिँदै निस्किँदै आएका शाक्य एनआईसी एशिया बैँकमा पनि पूरा कार्य काम गर्ने मनस्थितिमामा छैनन्।
व्यवस्थापनमा खराब प्रदर्शनकै कारण देखाएर नबिलमा खाएको हेपाइ पछि ‘जसरी हुन्छ सिईओ बन्ने हो’ भन्नेमा रहेका शाक्य बैँकको वित्तीय अवस्था सुधार भन्दा पदकै लागि एनआईसी छिरेको बुझिएको छ।
अत्यन्त कम तलबमै ‘डमी सिईओ’ बन्न प्रतिबद्धता जनाएपछि शाक्यको नियुक्ति र पदबाहालीले बोर्डका वित्तीय अपराध ढाकछोप गर्न केहि मद्दत पुग्ने देखिए पनि बैँक व्यवस्थापनका कर्मचारीसँगको पुरानो मनमुटावलाई शाक्यले प्राथमिकतामा राखेपछि कर्मचारी- कर्मचारीबीच किचलो सुरु भएको बैँक स्रोत बताउँछ। जसले बैँकको वित्तीय अवस्था झनै खस्किने कर्मचारीहरुको गुनासो छ।







