काठमाडौं । सरकारले विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।
अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्। रिटमा मन्त्रिपरिषद्को सिफारिसमा फिर्ता बोलाउने निर्णय असंवैधानिक भएको दाबी गर्दै कार्यान्वयन नगर्न माग गरिएको छ।
सरकारले असोज २० गतेको मन्त्रिपरिषद् बैठकबाट चीन, अमेरिका, बेलायत, जापान, जर्मनीलगायत ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
सरकारले फिर्ता बोलाएका राजदूतहरूमा चीनका कृष्णप्रसाद ओली, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा.नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य (बेलायत)का चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिका (अमेरिका) का लोकदर्शन रेग्मी र जापानका डा.दुर्गाबहादुर सुवेदी छन् ।






