काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको उल्लेख गर्दै उनीहरुमाथि कारबाही हुने बताएका हुन्।
प्रहरी महानिरीक्षक खापुङले समाजलाई धमिल्याउने अपराधिक गतिविधिहरुलाई प्रहरीले कुनैपनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताए । जेनजी आन्दोलनपछि प्रहरीहरुको मनोबल खस्केको भन्ने भनाईमा सत्यता नरहेको उनले बताए।
प्रहरी महानिरीक्षक खापुङले जेन-जी आन्दोलनपछि प्रहरीहरु स्थानीय जनताको सहयोगमा नै सबै चौकीहरुमा पुनःस्थापना हुन सकेको बताए । उनले भने,‘जेन-जी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरु पनि चलखेल भएको देखिएको छ ।
त्यो वास्तवमा गलत हो । र त्यो अपराधिक कार्य नै हो । त्यस्ता अपराधिक कार्यहरु दण्डित हुनुपर्छ । उनीहरु क्रमशः दण्डित हुन्छन् भन्नेकुरा यहाँहरु सबै समक्ष आश्वस्त पनि बनाउन चाहन्छु । यो आन्दोलन पश्चात आम रुपमा प्रहरीको मनोबल खस्केको जस्तो पनि देखिएको थियो ।
तर, प्रहरीको मनोवल खस्कनुपर्ने कुनै कारण छैन । प्रहरीप्रति आम वर्गको अपेक्षा ठूलो छ । तर ती सबैको अपेक्षा पूर्ति गर्नसक्ने अवस्था रहँदैरहँदैन । प्रहरीले त रोक्नुपर्ने हुन्छ । नो भन्नुपर्ने हुन्छ । कुनैपनि अपराधिक गतिविधिलाई रोक्नुपर्ने हुन्छ ।’ प्रहरी महानिरीक्षक खापुङले समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने बताएका छन् ।







