तिहारमा ४० करोड बराबरको फूलको कारोबार

काठमाडाैं। हिन्दु नेपालीहरुको दोस्रो महान पर्व तिहारका बेला देशभर करिब ४० करोड बराबरको फूल मालाको कारोबार हुने गरेको छ । नेपाल फ्लोरिकल्चर एशोसिएन(फ्यान) का अनुसार, तिहारका लागि मुख्य पाँच दिनमा सो बराबरको फूलको कारोबार हुने गरेको हो ।

तिहारका बेला ४० करोड बराबरको फूल तथा मालाको कारोबार हुने गरेको फ्यानका महासचिव हिरामान शर्माले बताए । विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गरेको उनी बताउँछन् ।

‘तिहारको ५ दिनमा करिब ४० करोड बराबरको फूलको कारोबार हुने गरेको छ । यस वर्ष पनि सोही हाराहारीमा कारोबार हुने अनुमान छ,’ उनले मेरो लगानीलाई भने । तिहारलाई धेरैले पुष्प र फूलको पर्वको रुपमा मनाउने गरिन्छ ।

शर्माका अनुसार, वार्षिक फूलको कारोबारमध्ये तिहारमा १० प्रतिशत हाराहारी हुने गरेको छ । उनले वार्षिक रुपमा करिब ४ अर्ब रुपैयाँ बराबरको फूलको कारोबार हुने गरेको बताए । उनका अनुसार, गत आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो ।

केही अपबादका वर्षहरुमा बाहेक हरेक वर्ष फूलको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत हाराहारीमा हुँदै आएको छ । अघिल्लो वर्षको तुलनामा आव २०८१/०८२ मा फूलको बार्षिक कारोबार ८.५० प्रतिशतले कमी आइ ३ अर्ब ३७ करोडको कारोबार भएको फ्यानले जनाएको छ ।

फ्यानका अनुसार, तिहार पर्व र अन्य बेला चाहिने फूल भने अधिकांश स्वदेशमै उत्पादन हुने गरेको छ । नेपालको कुल मागमध्ये ९० प्रतिशत उत्पादन स्वदेशी फूलले नै धानेको फ्यानका महासचिव शर्माले बताए । ‘अहिले मागको ९० प्रतिशत फूलमा हामी आत्मनिर्भर छौं । विदेशबाट ल्याउन पर्ने अवस्था छैन्,’ उनले भने ।

केही अपुग फूलहरु गाउँ गाउँमा रैथाने जातका उत्पादित फूलहरुले पूर्ति हुने गरेको छ । नेपालमा करिब ८०० हाराहारी व्यवसायिक प्रतिष्ठानहरुले पुष्प उत्पादन गर्दै आएका छन् । देशका विभिन्न ५२ जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा फूलको व्यवसायिक खेती हुने गरेको छ । फ्यानका अनुसार, हालसम्म पुष्प व्यवसायमा निजी क्षेत्रको ८ अर्बभन्दा बढी लगानी छ ।

नेपाल फूल तथा पुष्पमा करिब करिव आत्मनिर्भरताको अवस्थामा पुगेको छ । तिहारका बेला मात्र फूलको माग हुँदैन् । पुष्प व्यवसायीका अनुसार, फुलको कारोरबा १२ महिना नै हुने गरेको छ । स्वदेशमा मागअनुसार खपत भइ केही फूलहरु विदेश समेत निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को भन्सार विभागको तथ्यांकअनुसार, सो अवधिमा फूलको निर्यातबापत नेपालले १ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवमा भने निर्यात १०९ प्रतिशतले वृद्धि भइ २ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । नेपालबाट खासगरी, जापान, ह‌‌‍ङकङ, अमेरिका, अष्ट्रेलिया, कतार, क्यानडा र यूएईलगायतका मुलुकमा निर्यात हुने गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *