काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमै सरकारको खर्च आम्दानीभन्दा १ खर्ब ११ अर्ब रुपैयाँले बढी भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारको कुल खर्च ३ खर्ब ६४ अर्ब ५८ करोड पुगेको छ भने आम्दानी (राजस्व, अनुदानसहित) २ खर्ब ५३ अर्ब १८ करोडमा सीमित छ।
चालु खर्चमा व्यापक वृद्धि देखिए पनि पूँजीगत खर्च निकै कमजोर भएको छ। चालु खर्च २ खर्ब ५६ अर्ब ८० करोड (लक्ष्यको २१.७५%) पुगेको छ भने पूँजीगत खर्च १९ अर्ब १८ करोड मात्र (लक्ष्यको ४.७%) भएको छ।
वित्तीय व्यवस्थातर्फ ऋणको ब्याज र साँवातर्फ ८८ अर्ब ६० करोड खर्च भइसकेको छ, जुन वार्षिक लक्ष्यको २३.६१ प्रतिशत हो।
यसै अवधिमा सरकारको राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेन। असोजसम्म जम्मा २ खर्ब ५१ अर्ब १८ करोड राजस्व संकलन भएको छ, जुन लक्ष्यको ७८.१२% मात्र हो। गत वर्षको तुलनामा पनि यो कम हो।
महालेखाका अनुसार पूँजीगत खर्च अघिल्लो वर्षभन्दा घटेको छ भने चालु खर्च बढेको छ। राजस्व संकलन कमजोर हुँदा सरकारलाई ऋण लिएर खर्च धान्नुपर्ने अवस्था देखिएको छ।






