काठमाडौं । दसैँ बिदामा पेट्रोलियम आपूर्ति नियमित राख्न नेपाल आयल निगमले देशभरका डिपोहरू आलोपालो खोल्ने निर्णय गरेको छ।
यो वर्ष दशैं विदा ६ दिन रहेको छ । निगमका १३ शाखा तथा डिपोमध्ये शाखा कार्यालय वीरगञ्ज र डिपो दाङ ४/४ दिन खुल्नेछन् ।
त्यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रादेशिक कार्यालय ३/३ दिन खुल्नेछ भने बाँकी कार्यालय २ दिन खुल्नेगरी तालिका बनाइएको छ । दीपायल शाखा कार्यालय भने आवश्यकता अनुसार खुल्ने निगमले जनाएको छ ।
निगमले सम्बन्धित कार्यालयहरू बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताको लागि प्रत्येक डिपोको सम्पर्क व्यक्ति तोकेको छ । ती व्यक्तिसँग सम्पर्क गरेर तोकिएको समयमा डिपोबाट पेट्रोलियम पदार्थ दिन सक्ने निगमले जनाएको छ ।

Artha Sanjal






