चालकलाई मदिरा सेवन गरेर सवारी नचलाउन मन्त्री घिसिङको निर्देशन

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चालकहरुलाई मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउन सुझाव दिएका छन् ।

मन्त्री घिसिङले आज सामाजिक सञ्जाल फेशबुकमार्फत चालकहरुलाई गति नियन्त्रणमा राख्न, विश्राम लिएरमात्र लामो यात्रामा निस्कन सुझाव दिने क्रममा यस्तो सुझाव दिएका हुन् । मन्त्री घिसिङले दशैं पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो गरेपनि हतार नगरी, सजग भई नियम पालना गरेर यात्रा गर्न सुझाएका छन् ।

यस्तो छ मन्त्री घिसिङको धारणा-

सम्पूर्ण चालक तथा यात्रुहरूमा बिशेष​ अनुरोध :

“तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो ।” त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस् ।

चालक साथीहरूलाई अनुरोध:

-गति नियन्त्रणमा राख्नुहोस्,
-मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस्,
-विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस्,

यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्‍याउनुहोस् ।

यात्रु दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध:

-क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपारौं,
-चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौं,
-यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔं ।
-यस दशैंमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो ।

सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुशी हो, र परिवारको खुशी नै हाम्रो राष्ट्रको शक्ति हो ।

यहाँहरु सम्पूर्णलाई दशैको हार्दिक शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *