नेपालमा अब अन्तर्राष्ट्रिय कार्डबाट राजस्व भुक्तानी गर्न सकिने

काठमाडौँ। नेपाल सरकारले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई राजस्व व्यवस्थापन सूचना प्रणालीसँग जोडेर विदेशमा रहेका नेपाली र नेपाल आउने पर्यटकलाई राजस्व तिर्न सहज बनाएको छ ।

अबदेखि भिसा, मास्टरकार्ड, अलिपेजस्ता अन्तर्राष्ट्रिय कार्डमार्फत सरकारी राजस्व तिर्न सकिनेछ।

अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रूपमा यो सेवाको शुभारम्भ गरेपछि यसले भुक्तानी प्रक्रियालाई थप सहज बनाएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेले जानकारी दिए। उनका अनुसार यो प्रणालीले सेवा प्रवाहलाई कागजरहित, व्यक्तिरहित र नगदरहित बनाउनुका साथै चौबीसै घण्टा सेवा उपलब्ध हुने सुनिश्चित गरेको छ।

प्रारम्भिक चरणमा यो सेवा अध्यागमन विभागमा सुरु गरिएको छ। यसले गर्दा मानिसहरूले भिसा शुल्क तिर्न र नेपाल आउने पर्यटकले त्रिभुवन विमानस्थल लगायतका अध्यागमनसम्बन्धी राजस्व भुक्तानीमा सहजता पाउनेछन्। प्रवक्ता लामिछानेले आगामी दिनमा सरकारका अन्य निकायमा पनि यो सेवा विस्तार गर्दै लैजाने योजना रहेको बताए।

सरकारले यो प्रणालीले पारदर्शिता, सरलता र डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास लिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *