काठमाडौं । काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोपको खण्डन गरेको छ ।
महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दमकल जान सक्ने ठाउँमा तत्काल दमकल पठाएको भन्दै आज पत्रकार सम्मेलन मार्फत खण्डन गरेका हुन् ।
पाण्डेले सिंहदरबारमा २४ गते बेलुकै सवा ८ बजेदेखि नै दुईवटा दमकल पुर्याएको दाबी गरेका छन् । ‘हामीले पहिले नै पठाउन खोजेका थियौँ । तर न्यूरोड लगायत क्षेत्रमा आन्दोलन जारी रहँदा सुरक्षाको कारणले पठाउन नसकेको हो । स्कर्टिङ गरेर समेत लैजान सकेनौँ । तर दमकल बेलुका नै पुर्याइसकेका थियौँ ।’
सिंहदरबार र सर्वोच्च अदालतमा दमकल पठाउन खोज्दा पनि सुरक्षाको कारण केहि ढिलाइ भएको उनले स्वीकार गरेका छन् । पाण्डेले आन्दोलनको कारण आगलागी भएको ठाउँमा निभाउन ५ वटा दमकल परिचालन भएको बताएका छन् ।
उनले काठमाडौँ महानगरको दमकल २४ गते बेलुका सवा ८ बजेबाट २६ गते बिहानसम्म विभिन्न ठाउँमा लागेको आगो निभाउन परिचालन भएको दाबी गरे ।







