काठमाडौँ। सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । म्याद थप भएसंगै अब कम्पनीको आईपीओमा असोज ५ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीले भदौ ३० गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो । बीचमा सार्वजनिक विदा परेकोले आवेदन दिने म्याद थप गरिएको हो।
कम्पनीले सर्वसाधारणलाई ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
वि.सं. २०६९ सालमा यो कम्पनी स्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरु तयार पार्दछ । कम्पनीले Royal Blue, Grey Wolf, / Berries & Blues लगायतका ब्राण्डको मदिरा उत्पादन गरिरहेको छ । कम्पनीले ‘नेप्से बुल्स’ र ‘द गभर्नर’ नामको नामको प्रिमियम व्हिस्की पनि उत्पादन गरिरहेको छ ।
कम्पनीकी अध्यक्ष अल्का गोयल हुन् भने अन्य संचालकमा आशुतोष खेतान, राजीव प्याकुरेल, र रतन कुमार चौधरी छन् । ज्योति दाहाल कम्पनीको स्वतन्त्र संचालक हुन् ।






