काठमाडाैं । नेपाल एयरलाइन्सले आगामी असोजबाट चीनको ग्वाङझाउमा उडान गर्ने बताएको छ ।
एयरलाइन्सले असोज ९ (सेप्टेम्बर २५)देखि काठमाडौं-ग्वाङझाउ-काठमाडौं उडान गर्न लागेको हो । यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ ।
नेपाल वायुसेवा निगमले आइतबार सूचना जारी गर्दै नयाँ गन्तव्य ग्वाङझाउ, चीनमा उडान सुरु गर्न लागेको जनाएको छ । यसका लागि निगमले अग्रिम टिकट बुकिङ खुला गरेको छ, जसले नेपाल–चीन यात्रुहरूलाई थप विकल्प प्रदान गर्नेछ ।
निगमले यसअघि जापानको नारिता, मलेसियाको क्वालालम्पुर, हङकङ, कतारको दोहा, यूएईको दुबई, साउदी अरबको दमाम र थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।
यस्तै, भारतका दिल्ली, मुम्बई र बेंगलोरमा पनि नियमित उडान गर्दै आएको निगमले अब चीनमा पनि सेवा विस्तार गरेको हो ।







