काठमाडौं । अब नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको दर्ता र अनुगमन (ट्रयाकिङ) कार्य विद्युतीय प्रणालीमार्फत हुने भएको छ । अध्यागमन विभागले पर्यटकको सुरक्षा, सूचनाको पहुँच, अपराध नियन्त्रण तथा पर्यटन प्रवर्द्धनका लागि यो प्रणाली विकास गरेको जनाएको छ ।
यस्तो प्रणाली पहिलो चरणमा १ असोजबाट काठमाडौं उपत्यका भित्रका तारे होटेलमा अनिवार्य लागु गर्न लागिएको विभागले जनाएको छ ।
दोस्रो चरणमा १ मंसिरबाट सबै तारे होटेल, विमान कम्पनी, टूर्स एण्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागु गरिने भएको छ ।
विभागका अनुसार त्यसपछि सबै प्रकारका होटेल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू हुने भएको छ । विभागले सबै विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रुपमा आवद्ध हुन अनुरोध गरेको छ ।
विभागको सोमबारको निर्णय अनुसार यो प्रणाली कार्यान्वयन गर्न लागिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।






