काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ सुरु गरेको छ ।
बुकिङ आजबाट सुरु भई भदौ ३० गतेसम्म जारी रहने कम्पनीले जनाएको छ । उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमार्फत एकपटकमा अधिकतम १० वटासम्म पशु बुक गर्न सक्नेछन् ।
खसी/बोका बुकिङका लागि ४ हजार र च्याङ्ग्राका लागि ५ हजार रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्नेछ । यो रकम बुकिङ सुनिश्चित गर्न मात्र हो भने अन्तिम मूल्य तौल अनुसार निर्धारण हुनेछ ।
कम्पनीले २०–४० किलोसम्मका तौल समूहमा पशु छनोट गर्ने विकल्प उपलब्ध गराएको छ । घटस्थापनादेखि सप्तमीसम्म पशु वितरण गरिनेछ ।
बुकिङपछि उपभोक्तालाई एसएमएसमार्फत कोड र वितरण मिति प्रदान गरिनेछ । कम्पनीले यस वर्ष २ हजार खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । साथै, सुपथ मूल्य पसलबाट खरिद गर्दा प्रतिकिलो १० रुपैयाँ छुट पनि दिइनेछ ।






