अलिपे अब फोनेपे नेटवर्कमा उपलब्ध, ११ भन्दा बढी देशका पर्यटकले नेपालमा भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनेपेले अलिपेसँग ऐतिहासिक साझेदारी गर्दै आफ्नो इन्टरअप्रेबल क्यूआर नेटवर्कमार्फत अन्तरदेशीय भुक्तानी स्वीकृत गरेको छ । यसले नेपालको डिजिटल रूपान्तरण र अन्तरदेशीय व्यापार–व्यवसायतर्फको यात्रामा नयाँ अध्याय थपेको कम्पनीले जनाएको छ ।

उक्त साझेदारीको शुभारम्भ काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममार्फत गरियो, जहाँ नेपाल राष्ट्र बैंक, अलिपें प्रतिनिधि, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्थानका प्रतिनिधिहरू, टुर अपरेटर तथा गाइडहरू, प्रमुख सञ्चारगृह तथा व्यावसायिक समुदायका व्यक्तित्वहरू उपस्थित थिए ।

यस एकीकरणपछि चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, जर्मनी, इटाली लगायतका ११ भन्दा बढी देशका अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो परिचित होम ई–वालेट प्रयोग गरी नेपालमा सजिलै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।

अब यी भुक्तानी सुविधा नेपालभरका १७ लाखभन्दा बढी फोनेपे क्यूआर–सक्षम व्यवसायीमा उपलब्ध हुनेछ, जसले पर्यटकहरूलाई नगद बोकेर हिँड्नुपर्ने वा मनी एक्सचेन्ज खोज्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज, सुरक्षित र सुविधाजनक अनुभव दिने कम्पनीको दाबी छ ।

कार्यक्रममा अतिथि र प्रतिनिधिहरूलाई स्वागत गर्दै एन्ट इन्टरनेशनलका दक्षिण–पूर्वी एशिया, दक्षिण एशिया र एएनजेड क्षेत्रका जनरल म्यानेजर एडवर्ड युएले भने, ‘नेपालको डिजिटल भुक्तानी र पर्यटन पारिस्थितिकी तन्त्रको उन्नतिमा योगदान गर्न पाएको यो ऐतिहासिक क्षणलाई हामी गर्वका साथ मनाउँदैछौँ । अलिपें ले नेपालको बढ्दो डिजिटल पूर्वाधारलाई थप सुदृढ बनाउँदै, भुक्तानी प्रणालीलाई आर्थिक अवसर, सांस्कृतिक सम्बन्ध र पर्यटन समृद्धिको माध्यम बनाउन सक्छ, जसले स्थानीय व्यवसायी र अन्तर्राष्ट्रिय उपभोक्ता दुवैलाई फाइदा पुर्‍याउनेछ ।’

त्यसैगरी, फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, ‘अलिपे र फोनेपे नेटवर्कको एकीकरणले विश्वव्यापी इन्टरअप्रेबिलिटी र वित्तीय समावेशनतर्फ ठूलो कदम चालेको छ। यस साझेदारीले नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूलाई सजिलो बनाउने मात्र होइन, हाम्रो व्यवसायीलाई थप उपभोक्तासम्म पहुँच दिलाउनेछ – त्यो पनि कुनै अतिरिक्त जटिलता बिना ।’

फोनेपे र अलिपेबीचको यो सहकार्य केवल वित्तीय कारोबारमै सीमित छैन, यसले नेपाल र एशिया–प्रशान्त क्षेत्रबीचको सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउँछ । बढ्दो पर्यटन र व्यापारसँगै, नेपालमा अलिपे भुक्तानीको स्वीकृतिले यात्रु अनुभवलाई सहज बनाउन, व्यवसायी आम्दानी बढाउन र अन्तरदेशीय सम्पर्कलाई सबल बनाउन सहयोग पुर्‍याउनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *