काठमाडाैं। विकास बैंकप्रति लगानीकर्ता र निक्षेपकर्ताको विश्वास दिनप्रतिदिन खस्किँदै गएको छ । केही समयअघि सार्वजनिक भएको कर्णाली विकास बैंक घोटाला प्रकरणपछि विकास बैंकहरुप्रति जनविश्वास झन् कमजोर बनेको देखिन्छ ।
कतिपय बैंकले १४/१५ प्रतिशतसम्मको ब्याजदरमा ऋण प्रवाह गरे पनि उक्त ऋण उठाउन नसक्दा गैर–बैंकिङ कर्जा उच्च हुँदै गएको छ । यसले बैंकको वित्तीय स्वास्थ्यमा थप दबाब सिर्जना गरेको छ । विकास बैंकहरू वाणिज्य बैंक र लघुवित्तबीचको चपेटामा परेका छन् । ठूला वाणिज्य बैंकले ग्रामीण क्षेत्रमा समेत शाखा विस्तार गरेपछि विकास बैंकहरूको अस्तित्व संकट झनै गहिरिँदै गएको छ ।
उता, लघुवित्त संस्थाहरूले ग्रामीण क्षेत्रमा सस्तो र छरितो सेवा दिएपछि विकास बैंकले आफ्नो परम्परागत बजार गुमाइरहेका छन्। नेपाल राष्ट्र बैंकले लगाएको पूँजी वृद्धि, मर्जर र अधिग्रहणको दबाबले विकास बैंकहरू झन् असहज बनेका छन्। पर्याप्त पूँजी जुटाउन नसक्ने विकास बैंकहरूले टिकाउन कठिनाइ भोगिरहेका छन् ।
आर्थिक वर्ष २०८०–८१ को अन्त्यमा ६.६५ प्रतिशत रहेको विकास बैंकहरुको औसत निष्क्रिय कर्जा गत आर्थिक वर्ष २०८१–८२ मा बढेर ८.४६ प्रतिशतसम्म पुगेको छ । एक वर्षको अवधिमा १.८१ प्रतिशतको वृद्धि भएको हो । आर्थिक वर्ष २०७८–०७९ मा विकास बैंकहरूको निष्क्रिय कर्जा २.०६ प्रतिशत मात्र थियो । आर्थिक वर्ष २०७९–०८० मा निष्क्रिय कर्जा बढेर ४.५८ प्रतिशत पुग्यो। यसैगरी, आर्थिक वर्ष २०८०–८१ मा निष्क्रिय कर्जाको वृद्धि झनै तीव्र भयो र यो ६.६५ प्रतिशतमा पुग्यो । गत आर्थिक वर्ष २०८१–०८२ मा भने यो बढेर ८.४६ प्रतिशत पुगेको छ ।
विकास बैंकहरुमध्ये नारायणी डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष यस बैंकको निष्क्रिय कर्जा ५० प्रतिशतभन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०७८–७९ मा जम्मा २.९४ प्रतिशत रहेको थियो । २०७९–८० मा निष्क्रिय कर्जा १८.४ प्रतिशत पुगेको थियो ।
आर्थिक वर्ष २०८०–८१ सम्म यो कर्जा लगभग दोब्बरले बढेर ३५.२१ प्रतिशत पुगेको थियो भने आर्थिक वर्ष २०८१–८२ मा यो कर्जा बढेर ५०.९७ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जामा भएको यो तीव्र वृद्धिले खुद नाफा प्रभावित भएको छ । आर्थिक वर्ष २०८०–८१ मा १ करोड ७८ लाखले घटेको खुद नाफा आर्थिक वर्ष २०८१–८२ मा २ करोड ५१ लाखले घटेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा यो नाफा ४१.४० प्रतिशतले कमी हो ।
खराब कर्जा उच्च भएका बैंकहरुमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा उच्च वृद्धि भएको छ । गत आर्थिक वर्षमा निष्क्रिय कर्जा बढेर १२.३८ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ५.९१ प्रतिशतको तुलनामा दोब्बरभन्दा बढी हो । यसअघि आर्थिक वर्ष २०७९–८० मा ४.२९ प्रतिशत र २०७८–७९ मा ४.६५ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो । बढ्दो निष्क्रिय कर्जाले बैंकको नाफामा पनि नकारात्मक असर पारेको छ। गत आर्थिक वर्षमा बैंकको नाफा १ करोड ६३ लाख बराबरले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोडले बढेको खुद नाफा यस वर्ष १८१.१५ प्रतिशतले घटेको छ ।
ज्योति विकास बैंकको निष्क्रिय कर्जा ७.९८ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ४.९५ प्रतिशतको तुलनामा निकै बढी हो । २०७८–७९ मा १.४२ प्रतिशत, २०७९–८० मा ३.०९ प्रतिशत र २०८०–८१ मा ४.९५ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । यस्तै अघिल्लो आर्थिक वर्षमा १७ करोड ५ लाख खुद नाफा कमाएको यो बैंकले गत आर्थिक वर्षमा नाफामा ९२.७४ प्रतिशतले गिरावट आएको छ ।
एक्सल डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा पनि उच्च छ । आर्थिक वर्ष २०८१–८२ मा निष्क्रिय कर्जा ६.७१ प्रतिशत पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको ६.१८ प्रतिशतभन्दा केही बढी हो । यसअघि २०७८–७९ मा २.७९ प्रतिशत र २०७९–८० मा ४.८८ प्रतिशत थियो । नाफामा सामान्य गिरावट देखिएको छ । अघिल्लो आर्थिक वर्षमा ४ करोड ३४ लाख रहेको खुद नाफा गत आर्थिक वर्षमा ४ करोड ९ लाख पुगेको छ, जुन ५.९६ प्रतिशतले कम हो ।
सांग्रिला डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा लगा तार बढिरहेको छ । गत आर्थिक वर्षमा ५.६४ प्रतिशत पुगेको निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्षमा ४.०८ प्रतिशत थियो । २०७८–७९ मा ०.९८ प्रतिशत रहेको खराब कर्जा २०७९–८० मा ३.०६ प्रतिशत पुगेको थियो। यद्यपि, बैंकको खुद नाफा भने बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा ५० करोड ४२ लाख रहेको खुद नाफा २०८१–८२ मा ५३ करोड ७० लाख पुगेको छ, जुन ६.५१ प्रतिशतले बढी हो ।
महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा गत आर्थिक वर्षमा ४.८६ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ४.५८ प्रतिशतभन्दा बढी हो । २०७८–७९ मा २.९५ प्रतिशत रहेको निष्क्रिय कर्जा २०७९–८० मा ६.५१ प्रतिशत पुगेको थियो । नाफामा सामान्य वृद्धि देखिएको छ । आर्थिक वर्ष २०८०–८१ मा ५० करोड ३ लाख रहेको नाफा २०८१–८२ मा ५० करोड ६६ लाख पुगेको छ, जुन १.२६ प्रतिशतको वृद्धि हो ।
लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको ३.२९ प्रतिशतभन्दा बढी हो । यो बैंकको निष्क्रिय कर्जा २०७८–७९ मा १.६८ प्रतिशत रहेकोमा २०७९–८० मा ३.०१ प्रतिशत पुग्यो । यसको नाफामा भने ठूलो गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा ५४ करोड ३६ लाख खुद नाफा कमाएकोमा गत आर्थिक वर्षमा घटेर ३७ करोड ९८ लाख पुगेको छ, जुन ३०.१३ प्रतिशतले कम हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा ४.२४ प्रतिशत पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको ३.४३ प्रतिशतभन्दा बढी हो । निष्क्रिय कर्जा २०७८–७९ मा ०.९६ प्रतिशत र २०७९–८० मा १.८१ प्रतिशत थियो । बैंकको खुद नाफा सामान्य बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा ६८ करोड ५३ लाख रहेको खुद नाफा २०८१–८२ मा ६८ करोड ८६ लाख पुगेको छ, जुन ०.४८ प्रतिशतको वृद्धि हो ।







